शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ, ४ पुसः यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण विद्युतीकरण तथा चैले/चराङ (मुस्ताङ) ३३ केभी प्रसारण लाइन तथा सवस्टेसन निर्माण आयोजनाले यहाँ दुई वटा विद्युत् सवस्टेसन निर्माण सुरु गरेको हो ।लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा मुस्ताङमा ३३ केभिए विद्युत् प्रसारण लाइन तथा सवस्टेसन निर्माण प्रक्रिया अघि बढेको हो । उहाँसहित आयोजना र निर्माण कम्पनीका प्रतिनिधिले बिहीबार मुस्ताङको चैले र चराङमा पुगेर सवस्टेसन निर्माण क्षेत्रको स्थलगत अवलोकन तथा सर्वे गर्नुभएको छ ।

भारतीय निर्माण कम्पनी देवयान्स र नेपाली निर्माण कम्पनी भिसानको सहकार्यमा देवयान्स÷भिसान जेभीले रु ३८ करोड लागतमा ठेक्का सम्झौता गरेको  आयोजना प्रमुख विमलराज राउतले जानकारी दिनुभयो । उहाँका अनुसार मुस्ताङ जिल्लालाई पूर्ण रूपमा विद्युतीकरण गर्ने उद्देश्यले प्राधिकरणले गत वर्ष ठेक्का सम्झौता गरेको बताउनुभयो । प्राधिकरणले एक वर्षअघि सवस्टेसन निर्माण प्रक्रिया अघि बढाए पनि सबै ठेक्का प्रक्रिया पूरा गर्न करिब ११ महिना समय खर्चिनुपरेको आयोजना प्रमुख राउतको भनाइ छ । आयोजना र निर्माण कम्पनीबीच चैले र चराङमा उक्त सवस्टेसन १५ भित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको जनाउँदै उहाँले चैले र चराङमा दुई वटा ‘थ्रिएमबिए’ को ३३ केभी सवस्टेसन निर्माण हुने उल्लेख गर्नुभयो ।

प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सवस्टेसन रहेको थासाङ-२ कोवाङ सवस्टेनबाट १०३ किलोमिटर दूरीमा पर्ने चैले र चराङमा दुई वटा सवस्टेसन निर्माणको ठेक्का लगाएको हो । उक्त सवस्टेसन तीन हजार ८०० मिटर उचाइमा हाइअल्टिच्युडलाई थेग्नसक्ने गरी निर्माण गर्नुपर्ने भएकाले यसको लागत सामान्य डिजाइनभन्दा बढी भएको आयोजना प्रमुख राउतको भनाइ छ । उहाँका अनुसार अनुसार यहाँ निर्माण हुने सवस्टेसन हिउँ परे पनि समस्या नहुने र यसमा हाइअल्टिच्युडमा पनि काम गर्नेगरी यसकोे विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । निर्माणस्थलको अवलोकन गर्दै आयोजना प्रमुख राउतले सवस्टेसन सम्पन्न् भएपछि विद्युत् आपूर्ति सहज हुनुका साथै विद्युत् भोल्टेजमा पनि सुधार हुने विश्वास व्यक्त गर्नुभयो । 

यसैगरी माथिल्लो मुस्ताङस्थित लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष विष्टले मुस्ताङको थासाङमा ३३ केभीको एउटा मात्रै सवस्टेसन हुँदा जिल्लामा विद्युत् आपूर्तिमा समस्या हुँदै आएको बताउनुभयो । विद्युत् आपूर्तिलाई दीर्घकालीन रूपमा समाधान गर्न पालिका र सराकोर भएका निकायको पहलमा नया सवस्टेसन निर्माण प्रक्रिया अघि बढेको उहाँको भनाइ छ । स्वस्टेसन निर्माणलाई तीव्रता दिन प्राधिकरण र निर्माण कम्पनीका कर्मचारीलाई ताकेता दिँदै आएको अध्यक्ष विष्टले बताउनुभयो । उक्त सवस्टेसन सम्पन्न भएमा विद्युत्को समस्या समाधान हुनुका साथै पर्यटन, कृषि र औद्योगिक विकासमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।यसअघि आयोजनाअन्तर्गत मुस्ताङको कोवाङबाट लोघेकर दामोदरकुण्ड-१ चराङसम्म विद्युत् प्रसारण लाइन विस्तार सुरु गरिएको थियो । दुई वर्ष सम्झौता अवधि रहेको उक्त प्रसारण लाइनको हालसम्म ९५ प्रतिशत भौतिक प्रगति हासिल भएको निर्माण कम्पनीका प्रतिनिधि नवराज कडरियाले जानकारी दिनुभयो । केही ठाउँमा प्रसारण लाइन विस्तार गर्ने स्थानमा समस्या देखिँदा काममा ढिलाइ भएको उहाँको भनाइ छ ।