शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

पासाङ ल्हामु राजमार्गको कथा : जनताको पीडा, नेताको प्रतिज्ञा र धुलाम्य-हिलाम्य सडक वास्तविकता

पासाङ ल्हामु राजमार्ग केवल नुवाकोटका लागि होइन, नेपाल–चीन व्यापार विस्तारको मुख्य आधार समेत रहेको छ केरुङ।

नुवाकोट । काठमाडौँबाट नुवाकोट, रसुवा हुँदै चीनको केरुङसम्म पुग्ने रणनीतिक महत्वको पासाङ ल्हामु राजमार्ग नेपालका लागि मात्र होइन दक्षिण एशियाको व्यापारिक नक्सा परिवर्तन गर्ने सम्भावना बोकेको परियोजना हो। तर, दशकौँ बितिसक्दा पनि यो राजमार्ग अझै धुलाम्य र अधुरो छ। राजधानीको वरिपरि ‘स्मार्ट सिटी’को चर्चा बढ्दै गर्दा, काठमाडौँबाट नजिकैको नुवाकोट पुग्ने मुख्य सडक भने वर्षैपिच्छे मर्मतकै भरमा टालटुल गरी चलाइँदै आएको छ । २०७२ सालको विनाशकारी भूकम्पपछि पासाङ ल्हामु राजमार्गका अधिकांश भागहरूमा क्षति पुगेको थियो। त्यसपछि सरकारले “पुनर्निर्माण र विस्तार” शीर्षकमा ठेक्का प्रक्रिया अघि बढायो। तर, ठेक्का पाएका निर्माण कम्पनीहरूले समयमै काम सुरु गर्न सकेनन्।

सडक विभागको तथ्यांकअनुसार, काठमाडौँ–ककनी–बिदुर–त्रिशूली खण्डमा १५ वटा ठेक्का प्याकेजमा काम बाँडिएको थियो। तीमध्ये धेरैजसोमा काम सुरु नै हुन सकेन, कतिपयमा ठेक्का रद्द भएर पुनः बोलपत्र आह्वान गरियो। अहिले सडकका नाममा हरेक वर्ष खोस्रिन्छ, केही मिटर कालोपत्रे हुन्छ, फेरि अर्को वर्ष उत्खनन। धुलो, हिलो, खाल्डाखुल्डीले यात्रा असह्य भएको छ।”काठमाडौँबाट बिदुरसम्मको ७० किलोमिटरको यात्रा सामान्य अवस्थामा २ घण्टामा पुग्न सकिने दूरी हो। तर अहिले यात्रुहरूलाई ४ देखि ५ घण्टा लाग्छ। हिउँदमा धुलोले सास फेर्न गाह्रो हुन्छ भने  वर्षामा हिलोले गाडी फस्ने र हिड्न समेत नसक्ने हुन्छ। प्रसिद्ध सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको सम्झनामा राखिएको यो राजमार्ग नै राष्ट्रिय गौरव कार्यक्रमको सूचीमा परे पनि प्राथमिकतामा परेन। 

नेपाल सरकारले २०७५ मा यस राजमार्गलाई “महत्वपूर्ण अन्तरदेशीय व्यापारिक मार्ग” घोषणा गरेको थियो।पासाङ ल्हामु राजमार्ग भौगोलिक रूपमा निकै कठिन भूभागमा पर्छ। ककनी–बिदुर खण्डमा पहिरो, भूस्खलन र चट्टानको समस्या छ। ठेकेदारले उपकरण लैजानै सक्दैनन्। बजेट पनि छोटो-छोटो भागमा बाँडिन्छ, जसले काम अवरुद्ध गर्छ। तर, स्थानीय जनप्रतिनिधिहरू,सरोकारवालाहरु भने यो जवाफबाट सन्तुष्ट छैनन्।सचेत अभियान नेपाल र नुवाकोटको विकास निर्माणको मोडल कस्तो हुनसक्छ ? भन्ने अभियानमा युवा अभियन्ताहरु र युवाहरूले सामाजिक सञ्जालमा #PasangLhamuHighwayMovement चलाउँदै सरकारको ध्यानाकर्षण गराउन थालेका छन्। प्रत्येक चुनावअघि नेताहरूले यो राजमार्गलाई प्राथमिक एजेन्डा बनाउँछन्। 

तर, चुनाव सकिएपछि उनीहरू बिर्सिन्छन्। २०७९ सालको निर्वाचनअघि नेताहरूले छ महिनामा कालोपत्रे सडक बनाउने वाचा गरेका थिए, तर त्यो वाचा आजसम्म पूरा भएको छैन। राजमार्गका विभिन्न खण्डमा ठेक्का लिएका कम्पनीहरूको काम “कागजमा मात्र सम्पन्न” भएको आरोप बारम्बार उठ्ने गरेको छ । राजमार्गमा कामको प्रगति कागजमा देखाइएभन्दा वास्तविकता फरक छ। केही ठेक्का समयमै समाप्त नगरी पुनः म्याद थप गरिएको छ, जसले लागत बढाएको छ। नेताले आफ्नो क्षेत्रको सडकमा प्राथमिकता दिन्छन्, तर नुवाकोटको बाटो चुनाव आउँदा मात्रै सम्झिन्छन्। सडक निर्माणका क्रममा गुणस्तर परीक्षण नहुँदा मर्मत सुरु हुनासाथ फेरि सडक भत्किने क्रम दोहोरिन्छ। 

पासाङ ल्हामु राजमार्ग केवल नुवाकोटका लागि होइन, नेपाल–चीन व्यापार विस्तारको मुख्य आधार समेत रहेको छ केरुङ। नाकालाई अन्तरदेशीय व्यापार केन्द्र बनाउने  सरकारको योजना रहेकाले काठमाडौँ–नुवाकोट–रसुवा सडकको स्तरोन्नति अपरिहार्य छ । अहिले पनि स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वयको अभाव नै मुख्य समस्या बनेको छ । प्रदेश सरकारले यसलाई “संघीय परियोजना” भन्दै टार्छ भने संघीय मन्त्रालयले स्थानीय सरकारले सहयोग गरेन भन्दै पन्छिने गरेको छ । तर  दु:ख भने सर्वसाधारणले भोगिरहेका छन्। यो  राजमार्ग केवल सडक होइन काठमाडौँ र उत्तर नेपालको जीवनरेखा समेत हो। तर आजको अवस्थाले यो जीवनरेखा नै बाधक बनेको छ । राजनीतिक भाषण र फोटोसेसनभन्दा अघि बढेर सरकार, ठेकेदार र जनप्रतिनिधिले उत्तरदायित्वको मार्ग समात्ने बेला आएको छ। नत्र, पासाङ ल्हामु शेर्पाजस्ता वीर नारीको नाममा राखिएको यो सडक इतिहासकै अर्को अधुरो प्रतीक बनेर बस्नेछ। पासाङ ल्हामु राजमार्ग अहिले विकासको होइन, ढिलाइ र उपेक्षाको प्रतीक बनेको छ।