शुक्रबार, ४ बैशाख २०८३
२० देखि २२ भदौका लागि एमालेको विधान महाधिवेशन तय छ । बुधबार राति मात्रै प्रधानमन्त्री ओलीले काठमाडौंबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई बालुवाटार बोलाएर पार्टीको आन्तरिक राजनीति र पूर्वराष्ट्रपति भण्डारीप्रति आफूले लिएको नीति प्रस्ट्याउँदै ११औँ महाधिवेशनमा आफूलाई अध्यक्षमा समर्थन गर्नुपर्ने कारणबारे चर्चा गरेका थिए । त्यही क्रममा उनले पूर्वराष्ट्रपति भण्डारी पछि नहटे उनलाई पूर्वउपाध्यक्ष भीम रावललाई जस्तै कारबाही गरेर पार्टीबाट निकाल्नुपर्ने दिन आउन सक्ने चेतावनी दिएका थिए ।
तर, भण्डारीलाई दिइएको चेतावनीप्रति असहमति राख्दै काठमाडौं एमालेका अध्यक्ष दीपक निरौलाले ओलीको सम्बोधन नोट सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । ४८ बुँदे उक्त नोटमा ओलीले भण्डारीलाई मात्रै होइन, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पनि चेतावनीपूर्ण भाषामा ‘अभागीलाई खाने वेलामा रिस उठ्छ’ भन्दै व्यंग्य गरेको उल्लेख छ । निरौलाले सार्वजनिक गरेको नोट ‘भाइरल’ भएपछि अध्यक्ष ओलीले आफूले बोलेको भिडियोको केही अंशसहितको खण्डन वक्तव्य बिहीबार बिहान सचिवालयमार्फत जारी गरे । त्यसमा पनि उनले आफूसँग प्रतिस्पर्धा गरे भण्डारीलाई पूर्वउपाध्यक्ष रावललाई जस्तै पार्टीबाट निकाल्नुपर्ने दिन आउन सक्ने चेतावनी दिएका छन् ।
‘उहाँ (भण्डारी)ले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुुन्न । नेतृत्व लिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी हुनुु होइन । नेतृत्व क्षमता चाहिन्छ । परिस्थितिअनुसार डटेर सामना गर्नुपर्ने हुन्छ । उहाँ पार्टीमा आएर अध्यक्ष उठेमा हार्नुहुन्छ । हारेपछि पार्टीको विरोधमा लाग्नुुहुन्छ । त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारबाहीमा जानुुपर्ने हुन्छ । त्यस खालको अपमानजनक अवस्थामा जानुुभन्दा त उहाँलाई अहिले नै सम्मानजनक हैसियत छ । त्यसैले मसँगको भेटमा पनि उहाँलाई पार्टीमा समस्या खडा गर्ने गरी राजनीतिमा नआउन मैले आग्रह गरेको थिएँ,’ ओलीले काठमाडौंका प्रतिनिधिसँग भनेका छन् ।
अध्यक्ष ओलीले यसअघि विधान महाधिवेशनको छलफलका लागि १३ भदौमा बोलाइएको केन्द्रीय कमिटी बैठक पनि स्थगित गराएका छन् । तल्ला कमिटीबाट सुझाव आइनसकेको र विधान मस्यौदासहितका प्रतिवेदन तयारीका लागि समय अभाव तथा विदेश भ्रमणलाई कारण देखाएर बैठक स्थगित गरिएको थियो । तर, पूर्वराष्ट्रपति भण्डारी समूहको भने अर्कै दाबी छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा केन्द्रीय कमिटी हुँदै विधान महाधिवेशनसम्ममा फरक मत लैजाने तयारी भएपछि बैठक नै सारिएको यो समूहको दाबी छ । १४ भदौमा चीन भ्रमणमा जाने ओली १८ भदौमा स्वदेश फर्किँदै छन् । उनी फर्किएपछि बैठक बस्ने/नबस्ने अझै टुंगो छैन ।
काठमाडौं एमालेका अध्यक्ष निरौलाका अनुसार ओलीले विधान महाधिवेशनमा आफूले सही विचार प्रस्तुत गर्ने भन्दै फरक मत कसैले राखिरहन नपर्ने, अन्यथा महाधिवेशनमा हिसाब–किताब गरिने चेतावनी पनि दिएका थिए । ‘जबज इतिहास हो । इतिहासको रूपमा आउँछ । यो नीतिको रूपमा आउँछ । एक दिन दस्ताबेज प्रस्तुत हुन्छ, एक दिन छलफल र अर्को दिन समापन,’ विधान महाधिवेशन एकताको अधिवेशन हुने ओलीको भनाइ थियो, ‘अन्यथा गरे महाधिवेशनमा हिसाब–किताब गरिन्छ ।’ जबज परिवारको सम्पत्ति नभएको भन्दै उनले जबज फाउन्डेसनले नबचाउने पनि बताएका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।