शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

दुप्चेश्वरमा एक करोड बढी भेटी सङ्कलन

पौराणिक कथन अनुसार करिब पाँच सय वर्ष अघि एक स्थानीय तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दूध चढाइरहेको भेटिएकाले उक्त ठाउँको शिलालाई दुग्धेश्वर महादेव भएको विश्वासमा पुज्न थालिएको थियो ।

नुवाकोटको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर महादेव मन्दिरमा गत आर्थिक वर्ष २०८१/८२ मा रु एक करोड ४४ लाख ८० हजार भेटी सङ्कलन भएको छ । दुप्चेश्वर क्षेत्र विकास कोषका अनुसार सो आम्दानीबाट रु ३२ लाख २१ हजार खर्च गरिएको छ । दुप्चेश्वर महादेव मन्दिरमा दुप्चेश्वर गाउँपालिका वडा न.६ स्थित तादी खोलामा रहेको छ। कोषले प्रत्येक दिन बेलुका ५ बजेपछि आफ्नो आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्दै आएको छ । हरेक दिन साँझ मन्दिर परिसरमा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने गरिएको छ । साउन महिनामा मात्र   रु ३१ लाख ८३ हजार  भेटी सङ्कलन भएको छ भने करिव ५० हजार बढीले मन्दिर दर्शन गरेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

दुप्चेश्वर महादेव मन्दिरमा प्रत्येक बर्ष मङ्सिर पूर्णिमामा बिशेष गरि भब्य मेला लाग्ने गरेको  छ भने  यो मेला पांच दिनसम्म चल्ने गरेको छ । दुप्चेश्वर नुवाकोटको  प्रसिद्ध धार्मिक पर्यटकीयस्थल समेत रहेको छ । यस मन्दिरमा धान्य पूर्णिमाको अघिल्लो दिन चतुर्दशीदेखि पूर्णिमाको दिनसम्म मेला लाग्ने गर्दछ । भक्तजनहरुले पूजाआराधना गर्ने तथा भगवान् शिव महादेवप्रतिको आस्थाभाव प्रकट गर्दै आफुले चाहेको बर माग्ने परम्परा रहेको छ ।  दुप्चेश्वर महादेवको दर्शन गर्न काठमाण्डौं, धादिङ, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक,गोरखा  लगायत देशका विभिन्न ठाउँहरुबाट वर्षेनी लाखौ भक्तजनहरु महादेवसँग वरदान माग्न आउने गरेका छन् । यहाँ मागेको पाउने आटेको पुग्ने बिश्वास गरिन्छ । पशुपतिनाथको दोश्रो रुप मानिने नुवाकोटको यो प्रसिद्ध धार्मिकस्थल काठमाडौँदेखि ६५ किमी र बिदुरदेखि ४० किलोमिटर उत्तर-पूर्वमा रहेको छ । विशेषत यस धार्मिकस्थलमा सन्तान नहुनेहरू सन्तान माग्न आउने गरेको जन-विश्वास रहेको छ ।

काठमाडौंबाट कसरी पुग्न सकिन्छ

काठमाडौंबाट जाने यात्रुहरु काठमाडौंको टोखा-छहरे सडकखण्ड हुँदै चौघडा-खरानिटार-समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिर करिव ६५ किलोमिटर यात्रा गर्दा पुग्न सकिन्छ भने धादिङ गल्छी हुँदै यात्रा गर्ने यात्रुहरु भने देबिघाटबाट गंगटे-ढिकुरे-माछापोखरी- खरानिटार-समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिर करिव ९५ किलोमिटर यात्रा गर्दा पुग्न सकिन्छ। यी दुवै सडक पक्कि कालोपत्र गरिएको सडक रहेका छन्। यात्रा गर्न यी मार्ग सहज र सुलभ छन् । 

के भन्छ किमदन्ति 

पौराणिक कथन अनुसार करिब पाँच सय वर्षअघि स्थानीय एक तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वासमा प्रत्येक वर्ष धान्य पूर्णिमाका दिन विशेष मेला लाग्दै आएको छ । यस मेलामा तामाङ, शेर्पा,गुरुङ जातिका परम्परागत संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनहरूको बिक्री वितरण समेत हुने गरेको छ । जात्रा हेर्ने र दर्शन गर्ने दर्शनार्थीहरुको यो बेला ठुलो भिड समेत लाग्ने गरेको छ ।

किमदन्ति अनुसार समुन्द्रमन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटीएका महादेव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा वास बसेर रसुवाको गोसाइँकुण्ड गएको उल्लेख छ । दुप्चेश्वर महादेवलाई सानो पशुपतिनाथको रूपमा पुज्ने गरिन्छ । मेलाको विशेष रौनक चतुर्दशी र पूर्णिमाको दिन हुने गर्दछ । जोडी जुराउन र सन्तान माग्नकै लागी पनि यहाँ हजारौ भक्तजनहरु आउने गर्दछन् ।

सन्तान नभए सन्तान दिने (बिशेष - छोरा ) , चौपायाहरू नब्याएमा दाम्लो चढाएमा गर्भाधान हुने, बालबालिकको बोली नफुटेमा  बोली फुट्ने , जे माग्यो त्यो सबै पूरा हुने लगायतका जनविश्वासमा भक्तजनहरू आउने गरेका छन् । हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा यस दुप्चेश्वर महादेवलाइ मान्दै आएका छन् ।

आन्तरिक पर्यटनको प्रचुर सम्भावना

यो मन्दिरले  आन्तरिक र बाह्य पर्यटकको आगमनको  प्रचुर सम्भावना समेत बोकेको छ । काठमाडौंदेखि  दुप्चेश्वर मन्दिर करिव २ घन्टाको यात्रामा  पुग्न सकिन्छ भने धादिङ गल्छी हुँदै यात्रा गर्ने यात्रुहरु भने दुप्चेश्वर मन्दिर करिव ४ घन्टाको यात्रामा  पुग्न सकिन्छ। हिमालको फेदमा रहेको यो मन्दिर पवित्र तादी खोलामा अवस्थित रहेको छ । धार्मिक पर्यटनको गन्तव्यको लागि गतिलो सम्भावना बोकेको दुर्गम क्षेत्रमा रहेको यस धार्मिकस्थलको सरकारी र गैर सरकारी स्तरबाट प्रचारप्रसार हुन सके आन्तरिक एवम् वाह्य पर्यटकहरु सजिलै भित्र्याउन सकिन्छ ।