शुक्रबार, ४ बैशाख २०८३
सरकारले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक वातावरण बनाउने गम्भीर गृहकार्य थालेको छ । कानुनी र प्रशासनिक काम गरे पनि प्रमुख दलका नेतृत्वसँगको संवादहीनताले निर्वाचनको सुनिश्चितता हुन नसकेका वेला प्रधानमन्त्री सुशीला कार्कीले संवाद र विश्वासको वातावरण निर्माण गर्न चौतर्फी पहल सुरु गरेकी छिन् । तोकिएकै मितिमा निर्वाचन हुनेमा संशय बढिरहेका वेला राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री कार्की र कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वबिच महत्वपूर्ण संवाद भएको छ । साथै, मन्त्रीसहितको सरकारी टोलीले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त प्रमुख दलका केन्द्रीय कार्यालयको निरीक्षण गरेर विश्वास बढाउने प्रयास गरेको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीसँग प्रमुख दलका शीर्ष नेताहरूबिच भएको यो पहिलो संवादसँगै लामो समयदेखि देखिँदै आएको संवादहीनताको अवस्था तोडिएको छ । शीर्ष छलफलमा निर्वाचनको वातावरण बनाउने विषयमा प्रारम्भिक समझदारी छ । छलफलमा सहभागी नेताहरूले आगामी दिनमा निर्वाचन अनुकूल वातावरण निर्माणका लागि निरन्तर संवाद अघि बढाउने सहमति पनि जनाएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा सम्पन्न छलफलमा प्रधानमन्त्री सुशील कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिए । छलफलमा निर्वाचन सफल बनाउन राजनीतिक सहकार्य अपरिहार्य रहेकोमा उनीहरूबिच साझा धारणा बनेको छ ।
राष्ट्रपतिले देश गम्भीर मोडमा रहेको उल्लेख गर्दै लोकतान्त्रिक निकासका लागि निर्वाचनलाई सफल बनाउनु सबै राजनीतिक शक्तिको साझा दायित्व भएको बताएका छन् । प्रधानमन्त्री कार्कीले छिट्टै विस्तृत राजनीतिक संवादको पहल गर्ने र आवश्यकताअनुसार निरन्तर छलफलको प्रक्रिया अगाडि बढाउने समझदारीसमेत भएको छ । २३ र २४ भदौको जेन–जी आन्दोलनबाट सत्ताच्युत ओलीसहित शीर्ष नेता र प्रधानमन्त्री कार्कीबिच दूरी बढिरहेका वेला राष्ट्रपतिले संवादका लागि अग्रसरता लिएका हुन् । यद्यपि, राष्ट्रपति कार्यालयका अधिकारीहरूले भने चुनावी वातावरणका लागि राष्ट्रपतिले शीर्ष नेताहरूसँग अलग्गै छलफल गरेको जनाएका छन् ।
यसअघि प्रधानमन्त्रीकै उपस्थितिमा दलहरूका दोस्रो तहका नेताहरूसहितको सर्वदलीय बैठक राखेको तथा जेन–जीहरूसँग अलग्गै छलफल गरिसकेको राष्ट्रपति कार्यलयका अधिकारीले बताएका छन् । ‘मंगलबार राष्ट्रपतिले शीर्ष नेताहरूसँग मात्र छलफल राख्नुभएको थियो । प्रधानमन्त्रीलाई समय व्यवस्थापन गर्न अप्ठेरो परेकाले उहाँसहितको छलफल बुधबारलाई राखिएको थियो । तर, शीर्ष नेताहरू आउने निश्चित भएपछि उहाँ पनि समय व्यवस्थापन गरेर आउनुभयो र सौहार्दपूर्ण छलफल भयो,’ राष्ट्रपतिको सचिवालयका एक सदस्यले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।