आईतबार, ३ साउन २०८३

images

आईतबार, ३ साउन २०८३

आईतबार, ३ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत शुरु : तनहुँको दुर्गामन्दिर क्षेत्रमा एकतर्फी सञ्चालन

तनहुँ, १७ मङ्सिर । चार महिनादेखि भाँसिएर समस्याग्रस्त बनेको मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिकको भाग आजदेखि औपचारिक रूपमा मर्मत सुरु गरिएको छ। दुई लेनको स्थायी संरचना माथि अस्थायी दुई लेन थपेर चार लेन बनाइएको उक्त खण्ड सवारी चाप अत्यधिक बढेपछि गत साउन अन्तिम साता भाँसिएको थियो। भाँसिएको भाग करिब १०० मिटर लामो रहेको मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बताए।

पाण्डेका अनुसार भाँसिएको ठाउँमा कालोपत्र उप्काएर नयाँ संरचना निर्माणको काम सुरु गरिएको छ। मर्मतका कारण सो क्षेत्रमा सवारी आवागमन एकतर्फी गरी नियंत्रित रूपमा सञ्चालन गरिएको छ। मुग्लिन–पोखरा सडकको पूर्वी खण्डअन्तर्गत जामुनेदेखि आँबुखैरेनीसम्म ४१.५ किलोमिटर सडक चार लेनमा विस्तार तथा कालोपत्रसमेत पूरा भइसकेको छ। विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि निर्माण सुरु भएको यस खण्डको ठेक्का चिनियाँ कम्पनी ‘चाइना कम्युनिकेसन कन्स्ट्रक्सन’ ले लिएको हो। विसं २०२६ मा रेखाङ्कन गरिएको यो सडकमा सवारी चाप तीव्र रूपमा बढेपछि एडीबी (एशियाली विकास बैंक)को ऋण सहयोगमा चार लेनमा विस्तार कार्य अगाडि बढाइएको हो। पूर्वी खण्डको कुल लागत करिब रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रहेको छ।