शुक्रबार, ४ बैशाख २०८३
कांग्रेसका विभिन्न समूह भावी नेतृत्व कब्जा गर्ने रणनीतिअनुसार महाधिवेशन कार्यतालिका बनाउन लागेपछि नेताहरूबिचको विवाद अझै टुंगिएको छैन । शीर्ष नेताबिच आगामी महाधिवेशनको कार्यतालिकामा सहमति नजुट्दा लगातार केन्द्रीय कार्यसमिति बैठक प्रभावित हुँदै गएको छ । केन्द्रीय कार्यसमिति बैठक मंगलबारका लागि सारिएको छ । मिति र कार्यतालिका खोज्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ बैंकेटमा केन्द्रीय कार्यसम्पादन समितिको अनौपचारिक बैठक राखेका थिए । तर, भिन्दाभिन्दै समूहले फरक–फरक मिति र कार्यतालिका अगाडि सार्दा सहमति जुट्न सकेन ।
कांग्रेस पदाधिकारी तथा केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरूबिच पुसको मध्यतिर महाधिवेशन गर्ने कार्यतालिका केन्द्रीय कार्यसमितिमा पेस गर्नेलगायतका विकल्पमा सहमतिको प्रयास भइरहेको छ । उनीहरूबिच चरणबद्ध छलफल भए पनि सोमबारसम्म निष्कर्षमा नपुगेको नेताहरूले बताएका छन् । ‘विभिन्न विकल्पमा छलफल चलिरहेको छ । सहमतिको प्रयास भइरहेको छ,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने । कांग्रेस बैठक २८ असोजदेखि सुरु भएको थियो । बैठकको सुरुवातमा सभापति शेरबहादुर देउवाले नेता पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका थिए । त्यसयता पार्टी महाधिवेशनका लागि कुन मिति प्रस्ताव गर्ने भन्नेमा महामन्त्री गगन थापा र पार्टी नेतृत्वबिच सहमति हुन नसक्दा केन्द्रीय समिति बैठक प्रभावित हुँदै आएको छ ।
महामन्त्री थापाले मंसिरभित्रै नियमित महाधिवेशन वा महाधिवेशन प्रतिनिधिको मागअनुसार विशेष महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिमा पेस गर्ने चाहना राखेका छन् । तर, कार्यवाहक सभापति खड्काले महामन्त्री थापालाई उक्त प्रस्ताव पेस गर्न अनुमति दिएका छैनन् । संस्थापन पक्षले आगामी २१ फागुनको निर्वाचनपछि वैशाखतिर महाधिवेशन गर्नु उपयुक्त हुने धारणा राख्दै आएको छ । यो धारणालाई पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौलालगायतले साथ दिँदै आएका छन् ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले १६ देखि १९ पुससम्म पार्टीको नियमित महाधिवेशनमा जानुपर्ने वा महासमिति सदस्यहरूको भर्चुअल मतदानबाट यसको टुंगो लगाउनुपर्ने मत राख्दै आएका छन् । कतिपय केन्द्रीय सदस्यले भने केन्द्रीय कार्यसमितिलाई नै महाधिवेशनको मितिबारे निर्णय गर्न दिनुपर्ने दबाब दिँदै आएका छन् । केन्द्रीय कार्यसमितिमा संस्थापन पक्ष बहुमतमा छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।