मङ्गलबार, ८ बैशाख २०८३
काठमाडौं । नेपाली कांग्रेसको पुस २६–२८ मा हुने १५औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र नयाँ नेतृत्व चयनको प्रतिस्पर्धा तातिएको छ। नेपाली कांग्रेसभित्र सभापति चयनको दौड तातेसँगै चर्चित नेता तथा पूर्वमन्त्री नुवाकोटका डा. प्रकाश शरण महत पार्टी नेतृत्वमा आफू ‘सबैभन्दा सक्षम विकल्प’ भएको दाबी गरेका छन्। महतले संस्थापन समूहबाट १५ औँ महाधिवेशनमा आफ्नो दाबी रहेको बताएका छन् । पार्टीको आगामी महाधिवेशन नजिकिँदै जाँदा महतले संगठन, नीति–दिशा र भविष्यको नेतृत्वका प्रश्नमा आफ्नो विशिष्ट योग्यता, अनुभव र राजनीतिक क्षमताको पहिचान गराउँदै सभापतिमा दाबी बलियो बनाएका छन्।
सभापति शेरबहादुर देउवा र उनी निकट रहेका देशभरका कार्यकर्तासँग महतको राम्रो अन्तरसम्बन्ध रहेको छ । संस्थापनबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित डा.महतसमेत गरि अहिलेसम्म ७ जना सभापतिको दावी गरिरहेका छन् । विगत तीन दशकदेखि सक्रिय महत अर्थतन्त्र, कूटनीति र लोकतान्त्रिक आन्दोलनका कठिन चरणमा परीक्षित नेताका रूपमा चिनिन्छन्। कांग्रेसको नेतृत्व संकट गहिरिँदै गएको बेला महत पार्टीलाई समयसापेक्ष आधुनिक बनाउने, संगठनलाई पेशागत र अनुशासित ढंगले पुनर्संरचना गर्ने र वैचारिक स्पष्टता स्थापित गर्ने आकांक्षासहित अगाडि उभिएको उनका नजिकका सहयोगीहरु बताउँछन्।
महतले हालै आन्तरिक भेटघाटमा संगठनको मेरुदण्ड बलियो बनाउने, युवापुस्तालाई संरचनामा प्रवेश गराउने, आर्थिक सुशासन र नीति–निर्माणमा पेशागत क्षमता बढाउने कार्ययोजना अनुरुप काम गरिरहेका छन्। कांग्रेसलाई प्रतिस्पर्धी, पारदर्शी र सक्षम दलका रूपमा रूपान्तरण गर्न समयअनुकूल नेतृत्व अपरिहार्य रहेको भन्दै महतले सभापतिमा आफ्नो दावी प्रस्तुत गरेका हुन् । त्यस्तै राजनीतिक जगतमा गहिरो पकड, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको अनुभव र कांग्रेसभित्रको संस्था–संगठनमा लामो समयको अनुभवले महतलाई ‘सभापतिको दावेदार’ बनाएको बताइन्छ ।
विशेषगरी अर्थतन्त्र र कूटनीतिक क्षेत्रमा उनको स्पष्ट दृष्टिकोण, शान्त स्वभाव, निर्णय क्षमता र समायोजनशील नेतृत्वशैली पार्टीभित्र र बाहिर पनि व्यापक चर्चा हुने गरेको छ । महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्र नयाँ ऊर्जा, नयाँ दिशा र प्रभावकारी व्यवस्थापनको माग बढेको छ। यसैबीच डा. प्रकाश शरण महतको सक्रियता र नेतृत्व दाबीले कांग्रेसको आन्तरिक प्रतिस्पर्धालाई थप रोचक बनाइदिएको छ। अब महतको ‘शक्तिशाली नेतृत्व’ को दाबी कत्तिको प्रभावशाली बन्ने हो-यो भने महाधिवेशनको निर्णायक क्षणमै स्पष्ट हुनेछ। शैक्षिक रूपमा अर्थशास्त्रमा विद्यावारिधि (PhD) हासिल गरेका महत पार्टीभित्र नीति बहस, कूटनीति र आर्थिक दृष्टिकोणका विषयमा सशक्त आवाज मानिन्छन्।
उनले पटकपटक पार्टीको मतदाता आधार खस्कँदै गएको, आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको र युवापुस्ता पार्टीबाट विमुख हुँदै गएको चेतावनी दिंदै नेतृत्व रूपान्तरणको आवश्यकता औंल्याउँदै आएका छन्। कांग्रेसमा पुराना पदाधिकारी र युवा पुस्ताबीच समन्वय गराएर ‘सन्तुलित नेतृत्व’ निर्माण गर्ने मामलामा महतलाई सक्षम विकल्पको रूपमा हेरिने गरिएको छ । तर महतका लागि बाटो भने सजिलो छैन। कांग्रेसमा गुटगत विभाजन गहिरो छ भने पुराना नेताहरूबीच पनि सैद्धान्तिक तथा भावनात्मक असहमति अधिक छ ।
त्यस्तै युवा पङ्क्ति ‘पूर्ण नेतृत्व रूपान्तरण’ मागिरहेको छ भने परम्परागत समूह ‘अनुभव’लाई प्राथमिकतामा राख्न चाहन्छ। महाधिवेशन नजिकँदै जाँदा कांग्रेसको राजनीति, नेतृत्व समीकरण र शक्ति सन्तुलन थप रोचक मोडमा प्रवेश गरेको छ। महतले पछिल्लो समय आफ्नो गृह जिल्ला नुवाकोटमा विकास परियोजना तथा स्थानीय संगठित संरचनामा सक्रियता बढाउँदै आएका छन् । महत आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फबाट नुवाकोट क्षेत्र न.१ बाट चुनाव लड्ने तयारीमा रहेका छन् ।