शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

काठमाडौंको फोहोरको किचलो : सरकार–स्थानीयबिच ११ बुँदे सहमति

यसअघि भएका सहमतिहरू कार्यान्वयन नगरिएको र मुद्दा दायर गरेर स्थानीयमाथि ‘दमन’ गर्न खोजिएको आरोप लगाउँदै मंगलबार रातिदेखि बन्चरेडाँडावासीले ढुवानी अवरुद्ध पारेका थिए ।

उपत्यकाको फोहोर ढुवानीमा बन्चरेडाँडावासीले लगाएको अवरोध हटाउने सहमति भएको छ । बिहीबार सहरी विकासमन्त्री कुलमान घिसिङ, ककनी गाउँपालिकाका प्रमुख सुमन तामाङ र स्थानीय प्रतिनिधिहरूबिचको बैठकले ११बुँदे सहमति गर्दै अवरोध हटाउने निर्णय गरेको हो । ०७९ मा काठमाडौं महानगरपालिकाका फोहोर बोकेका गाडीमा तोडफोड भएको आरोपमा महानगरले प्रहरीले १८ जनामाथि मुद्दा चलाएको थियो । मुद्दा फिर्ता लिनुपर्ने मागसहित स्थानीयवासीले दुई दिनदेखि फोहोर ढुवानी अवरुद्ध गर्दै आएका थिए । सहमतिपछि बिहीबार बेलुकादेखि उपत्यकाबाट फोहोर बोकेका गाडी बन्चरेडाँडा चल्न थालेका छन् । 

यसअघि भएका सहमतिहरू कार्यान्वयन नगरिएको र मुद्दा दायर गरेर स्थानीयमाथि ‘दमन’ गर्न खोजिएको आरोप लगाउँदै मंगलबार रातिदेखि बन्चरेडाँडावासीले ढुवानी अवरुद्ध पारेका थिए । स्थानीय नवराज ढुंगानाले सहरी विकास मन्त्रालयमा सर्वपक्षीय बैठकमा ११बुँदे सहमति भएको र त्यसपछि फोहोर ढुवानी पुन: सुरु भएको बताए । बैठकमा महानगरले विगतमा स्थानीयमाथि दायर गरेका सबै मुद्दामा तत्काल निर्णय गरी पत्राचार गर्ने, बन्चरेडाँडाको विस्तृत वातावरणीय प्रभाव मूल्यांकन छिटो बनाउन लिखित प्रतिबद्धता जनाउने, आगामी आर्थिक वर्षको बजेटमा आवश्यक जग्गा अधिग्रहणका लागि बजेट विनियोजन गर्ने सहमति भएको छ । 

यस्तै, स्थानीयको घर–टहरा तथा बाली क्षतिपूर्तिको रकम तत्काल व्यवस्थापन गरी महानगरलाई पत्राचार गर्ने, एक महिनाभित्र अति प्रभावित स्थानीयलाई अद्यावधिक मूल्यांकनका आधारमा क्षतिपूर्ति प्रदान गर्ने र क्यापिङ लेयरबाहिर खसेको फोहोर र लिच्चडका कारण उत्पन्न दुर्गन्धको १५ दिनभित्र उचित व्यवस्थापन गर्ने तथा विज्ञ टोलीबाट फिल्ड निरीक्षण गरी दीर्घकालीन समाधान खोज्ने सहमति भएको छ । ककनी गाउँपालिकाका अध्यक्ष तामाङका अनुसार बन्चरेडाँडा र सिसडोलका अति प्रभावित स्थानीयका लागि विशेष कार्ड वितरण गरिनेछ । फोहोरका कारण स्वास्थ्य समस्या भएमा सरकारी अस्पतालमा नि:शुल्क उपचार गरिनेछ । 

उनका अनुसार काठमाडौं उपत्यकाका स्कुल–कलेजमा प्रभावित क्षेत्रका विद्यार्थीका लागि अनिवार्य कोटा व्यवस्था गर्ने र स्थानीय विद्यालयको भौतिक संरचना विकासलाई प्राथमिकता दिने सहमति भएको छ । सहमतिअनुसार फोहोर उत्पादन गर्ने नगरपालिकाले बन्चरे ल्यान्डफिल साइटवरपरका स्थानीयलाई रोजगारीको अवसर उपलब्ध गराउने विषयलाई मेयर्स फोरम वा मन्त्रालयको बैठकमा एजेन्डा बनाइनेछ । यसबाहेक काठमाडौं महानगरले ककनी र धुनीबेँसी नगरपालिकालाई दिँदै आएको तीन–तीन करोड अनुदान बढाएर ६–६ करोड पुर्‍याउने निर्णय पनि भएको छ । 

सहमतिको बुँदा ८ अनुसार बन्चरेडाँडा–सिसडोल क्षेत्रमा फोहोरका कारण विभिन्न रोग लागेर मृत्यु भएकाहरूको परिवारलाई उचित राहत उपलब्ध गराउने कार्यविधि बनाइनेछ । यसबाहेक प्रभावित क्षेत्रका समस्याको समाधानका लागि धुनीबेँसीबाट तीन, ककनीबाट तीन र बेलकोटगढीबाट एकजना प्रतिनिधि रहने गरी कार्यदल गठन गरिनेछ । अन्तिम बुँदाअनुसार तिनपिप्ले–कुमारी–गल्छी सडक निर्माणमा यसै आर्थिक वर्षदेखि बहुवर्षीय आयोजनाको प्रक्रिया अघि बढाइने सहमति भएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ  ।