शनिवार, २ साउन २०८३
सन् २०२६ को पहिलो दिनले नयाँ आशा र भरोसाको सुरुवात गरेको छ । सन् २०२५ ले नेपालदेखि विश्वसम्म अनेकौँ चुनौती, द्वन्द्व र परिवर्तनका पाठहरू छोडेर गएको छ । डिजिटल युग पार गर्दै एआई युगमा प्रवेश गरेको विश्वमा चीनको ‘डिप सिक’ प्रविधिदेखि अमेरिकाको एआईमैत्री बजेटसम्मले भविष्यको दिशा स्पष्ट बनाइरहेको छ । विगतका नमिठा अनुभवबाट सिक्दै सुन्दर पृथ्वी र स्थिर राष्ट्र भविष्यका पुस्तालाई हस्तान्तरण गर्ने जिम्मेवारी अहिलेको पुस्तामाथि आएको छ । विश्व राजनीति गत वर्ष केही हदसम्म शान्तितर्फ उन्मुख भयो - इजरायल–हमास युद्धको समाप्तिपछि रुस–युक्रेन द्वन्द्व समाधानका पहल बढे । अमेरिका विश्वका युद्धभन्दा आन्तरिक विकास र कूटनीतिक मध्यस्थतामा केन्द्रित देखिनुले पनि सन्तोषको संकेत दियो ।
तर दक्षिण एशियामा परिस्थिति फरक रह्यो । बङ्गलादेशमा विद्यार्थी आन्दोलनपछि राजनीतिक अस्थिरता बढिरहेकै छ, श्रीलङ्का आर्थिक संकटबाट उठ्ने प्रयासमा छ, अन्य देशहरू यथास्थितिमै अडिरहेका छन् । नेपाल भने भदौ २३–२४ को जेनजी आन्दोलनपछि सत्ता परिवर्तन र चुनावी तयारीतर्फ अघि बढेको छ । सरकार २०२६ लाई परिणाममुखी बनाउन उत्साहित देखिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्वयुद्ध रोक्न युद्धरत राष्ट्रबीच संयमता अपनाउँदै वैज्ञानिक प्रगति र वार्ताको भूमिकामा जोड दिए। “अहङ्कारले युद्ध झनै चर्किन्छ, त्यसैले सचेत भइरहनु आवश्यक छ । नेपालले पनि विग्रहको मूल्याङ्कन गर्दै चुनावलाई स्थिर भविष्यको अवसरका रूपमा लिनुपर्ने छ ।
जेनजी आन्दोलन सन् २०२५ नयाँ पुस्ताका लागि निकै पीडादायी वर्ष रह्यो । नयाँ वर्ष २०२६ ले नयाँ पुस्ताका लागि नयाँ सुरुवात र नयाँ भरोसा ल्याओस् भन्ने अपेक्षा छ । नेपालको राजनीति र समाजमा रहेका पुराना द्वन्द्व र अन्यायको जरो उखेलेर मात्र नयाँ वर्ष अर्थपूर्ण हुन्छ । भ्रष्टाचार, अन्याय र सामाजिक विसङ्गतिका लामै सूचीबीच नयाँ वर्षसँगै आगामी सरकारले यी समस्याको अन्त्य गर्ने वास्तविक आधार बनोस् भन्ने अपेक्षाले जनमानस भरिएको देखिन्छ । २०२६ ले केवल नयाँ क्यालेन्डर मात्र होइन—नयाँ चेतना, नयाँ सहमति र नयाँ युगको सुरुवात गराओस्, यही जनअपेक्षा हो।