शुक्रबार, ४ बैशाख २०८३
२८ कात्तिक, काठमाडौं । बारम्बार गहिरहने पहिरो, ब्यापक भीडभाड,धुलो,हिलो र अवरोधका कारण पृथ्वी राजमार्गमा हुने यातायात अवरुद्धले अब नयाँ वैकल्पिक मार्गको आवश्यकता झनै बढेको छ। यही आवश्यकता पूरा गर्न नुवाकोट हुँदै धादिङतर्फ जोड्ने वैकल्पिक राजमार्ग निर्माण कार्य अगाडि बढाइएको थियो । तर, परियोजना सुरु भएको वर्षौँ बितिसक्दा पनि कामको गति सुस्त र योजना अस्पष्ट रहेकाले स्थानीय स्तरमा असन्तुष्टि बढ्दै गएको छ। सडक विभागअन्तर्गत नुवाकोट डिभिजनले नुवाकोट–धादिङ वैकल्पिक राजमार्गलाई दुई लेनको आधुनिक सडकका रूपमा विकास गर्ने योजना अघि सारेको छ ।
आयोजना अनुसार करिब ४० किलोमिटर लामो खण्डमा पहाडी भू–भाग हुँदै सडक निर्माण गरिँदैछ। यो मार्गले काठमाडौं उपत्यकाबाट नुवाकोट, धादिङ, गोरखा र पश्चिमका जिल्लातर्फ छोटो दूरीमा पहुँच सहज बनाउने उद्देश्य लिएको छ।लामो समयदेखि अलपत्र परेको नुवाकोट–धादिङ वैकल्पिक राजमार्ग निर्माणको माग पुनः तीव्र बनेको छ। सचेत नागरिक अभियान नेपाल र नुवाकोटको विकास निर्माणको मोडल कस्तो हुनसक्छ ? भन्ने अभियानमा युवा अभियन्ताहरुले यो सडकलाई राजधानीसँग नुवाकोटको दक्षिण भेग जोड्ने जीवनरेखा भन्दै तत्काल निर्माण कार्य सुरु गर्न सरकारसँग माग गरेका छन्।
उनीहरुले यो वैकल्पिक राजमार्ग बनेको भए नुवाकोट र धादिङका जनताले सहज यातायात मात्र होइन, व्यापारिक अवसर र पर्यटन विकासमा पनि ठूलो फाइदा पाउने साथै बाटो सञ्चालनमा आएपछि नागढुङ्गाको भीड र जाम पनि उल्लेखनीय रूपमा घट्ने भन्दै तद्काल निर्माण थाल्न माग गर्दै दवाब अभियान सुरु गरेका छन् । उनीहरुको माग र नारा एकै छ - “हाम्रो बाटो खोलिदेउ, नुवाकोट दक्षिण भेगलाई वैकल्पिक राजमार्गको माध्यमबाट राजधानीसँग जोडिदेउ।” अहिले सरोकारवाला र अभियन्ताहरुले यो सडक निर्माणका लागि आवाज उठाउँदै आएका छन्। योजनाको प्रारम्भिक अध्ययन (DPR) केही वर्षअघि सुरु भए पनि बजेट अभाव र प्रशासनिक समन्वय नहुँदा काम अघि बढ्न ढिलाइ भएको बताइन्छ।
प्रदेश र संघीय सरकारबीचको जिम्मेवारी स्पष्ट नहुँदा केही खण्डमा ठेक्का प्रक्रिया रोकिन पुगेको छ। केही भागमा भने टेन्डर भइसकेको छ, तर फन्डिङ नआएपछि निर्माणको गति सुस्त छ। सडक निर्माण सम्पन्न भएपछि यो मार्गले काठमाडौंका लागि वैकल्पिक आपूर्ति सञ्जाल निर्माण गर्नेछ। नुवाकोट–धादिङ वैकल्पिक राजमार्गले पृथ्वी राजमार्गको दबाब घटाउने र क्षेत्रीय आर्थिक विकासमा ठूलो टेवा पुर्याउने सम्भावना बोकेको छ। तर, ढिलाइ, प्राविधिक कमजोरी र वातावरणीय संवेदनशीलता बेवास्ता गरिएमा परियोजना दीर्घकालीन रूपमा समस्याग्रस्त बन्न सक्छ। स्थानीयको अपेक्षा स्पष्ट छ-“राजमार्ग होइन, जीवनमार्ग बनोस्।”