शुक्रबार, ४ बैशाख २०८३
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। आइतबार प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले दिएको विवरणअनुसार मृतकमध्ये ५९ जना प्रदर्शनकारी र सर्वसाधारण, १० जना कैदीबन्दी र तीन जना सुरक्षाकर्मी रहेका छन्। त्यस्तै १३४ सर्वसाधारण र ५७ सुरक्षाकर्मी गरी १९१ जना विभिन्न अस्पतालमा उपचाररत छन्। नेपाल प्रहरीका अनुसार मृतकमध्ये कोही गोली लागेर, कोही आगलागी भएका भवनमा जलेर र कोही कुटपिटका कारण मृत्यु भएका हुन्। मृतकमध्ये जेन–जी, प्रदर्शनकारी, प्रहरी, कैदीबन्दी तथा भारतीय नागरिकसमेत परेका छन्।
आन्दोलन सुरु भएको २३ भदौमा मात्रै २१ जनाले ज्यान गुमाएका थिए। त्यसपछिका दिनहरूमा घाइतेकै मृत्यु, आगलागीका घटनामा भेटिएका शव र विभिन्न जिल्लाका कारागारमा भएको तनावमा गोली लागेर मृतकको संख्या बढ्दै गएको हो। प्रहरी प्रवक्ता विनोद घिमिरेले जलेका भवनहरूमा अझै शव भेटिने क्रम जारी रहेको जनाउँदै मृतकको संख्या अझै बढ्न सक्ने बताए। आइतबार मात्रै चुच्चेपाटीस्थित भाटभटेनीमा थप ६ जना मृत अवस्थामा फेला परेका छन्।
यस्तै, गोली लागेर गम्भीर घाइते भएका दुईजनाको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। बैतडीका १८ वर्षीय दीपक साउद र नुवाकोटका २७ वर्षीय शुभराज बलामी श्रेष्ठको टाउकोमा गोली लागेको थियो। अधिकांश मृत्यु हुनेहरू प्रहरीको गोली लागेका हुन्, जसमा छाती, घाँटी र टाउको लक्षित गरिएको पाइन्छ। २३ भदौको घटनामा मात्रै प्रहरीले चलाएको गोलीबाट ४५० भन्दा बढी घाइते भएका थिए ।