शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

विशेष अदालतको फरक मापदण्ड : १३ करोडमा पुर्पक्ष , ८ अर्बमा धरौटी

नलिन्चोक हेलिपोर्ट निर्माणमा १३ करोड रुपैयाँ बिगो देखिएको भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरण (क्यान)का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि जेल पठाएको विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको ८ अर्ब ३६ करोड रुपैयाँको भ्रष्टाचार मुद्दामा भने पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको छ। १३ करोडको मुद्दामा जेल पठाइएका अधिकारीलाई यसभन्दा ६४ गुणा ठूलो रकम समावेश भएको भ्रष्टाचार प्रकरणमा भने न्यून धरौटी निर्धारण गरिएको अदालतको आदेशले धेरैको ध्यान खिचिएको छ। 

पोखरा विमानस्थलसम्बन्धी मुद्दामा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य डिल्लीरत्न श्रेष्ठको इजलासले मंगलबार आदेश सुनाएको हो। नलिन्चोक हेलिपोर्टको मुद्दामा भने गत आइतबार न्यायाधीश हेमन्त मल्ल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। नलिन्चोक हेलिपोर्ट प्रकरणमा अधिकारी हाल डिल्लीबजार कारागारमा छन्। पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पाँच लाख धरौटी बुझाए पनि उनको जेलमुक्ति भने तुरुन्त सम्भव छैन।

सोही मुद्दामा संलग्न क्यानका निलम्बित निर्देशक मुरारी भण्डारीसँग विशेष अदालतले एक लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतले धरौटी सम्बन्धी आदेश जारी गर्दै प्रतिवादीहरूको पदीय हैसियत, परियोजनामा उनीहरूको भूमिका, आरोपको स्वरूप तथा संलग्नताको आधारमा अधिकारीसँग पाँच लाख र भण्डारीसँग एक लाख धरौटी लिएर तारेखमा राख्ने उल्लेख गरेको छ। अधिकारी २०७१ देखि २०७४ सम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख थिए भने भण्डारी सो परियोजनाका प्राविधिक इन्जिनियरका रूपमा कार्यरत थिए।