शुक्रबार, ४ बैशाख २०८३
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनको सरगर्मी बढ्दै जाँदा जिल्ला–नगर महिला कोटातर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा सुष्मा महराको उम्मेदवारीले विशेष चर्चा पाएको छ । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) की सचिव तथा चर्चित व्यावसायिक प्रतिष्ठान फेसियल हाउसकी प्रबन्ध निर्देशक महराको उम्मेदवारीलाई महासंघभित्र ‘परिवर्तन र व्यावसायिक कुशलता’को सङ्केतका रूपमा हेरिएको छ । साथै, एफएनसीसीआईको इतिहासमै पहिलोपटक विधानमार्फत महिला कोटा सुनिश्चित गरिएपछि यसपटकको निर्वाचन थप विशेष र ऐतिहासिक समेत बनेको छ ।
यो ऐतिहासिक अवसरमा जिल्ला–नगर महिला कोटातर्फ केन्द्रीय कार्यकारिणी सदस्य पदमा सुष्मा महराको उम्मेदवारीले देशभरका उद्योगी–व्यवसायीमाझ नयाँ उत्साह र भरोसा जगाएको छ । महिलाको हिम्मत, आत्मविश्वास र मेहनतले असम्भवलाई पनि सम्भव बनाउँछ । जहाँ महिला नेतृत्व बलियो हुन्छ, त्यहाँ सहकार्य बढ्छ र समृद्धिको बाटो अझ उज्यालो हुने चर्चा गर्दै महराले देशभरका जिल्ला तथा नगर अध्यक्षहरूसँग अमूल्य मत र साथको अपेक्षा व्यक्त गरेकी छिन् ।
को हुन् सुष्मा महरा ? संघर्षदेखि सफलतासम्मको यात्रा
सुष्मा महरा नेपालको सौन्दर्य र ‘वेलनेस’ क्षेत्रलाई संस्थागत गर्ने एक अग्रणी नाम हो । झन्डै दुई दशकदेखि व्यावसायिक रूपमा सक्रिय महराले ‘फेसियल हाउस’मार्फत देशभर सयौँ महिलाहरूलाई प्रत्यक्ष रोजगारी सृजना गर्दै हजारौँलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर समेत बनाएकी छिन् । उनी केवल एक सफल व्यवसायी मात्र होइनन्, नीतिगत तहमा पैरवी गर्न सक्ने क्षमतावान नेतृत्वकर्ता पनि हुन् । ‘महिलाको आर्थिक स्वतन्त्रता नै समृद्धिको आधार हो र महिला नेतृत्व भनेको सहकार्य, समावेशिता र विश्वासको शक्ति हो’ भन्ने विषयलाई आत्मसाथ गर्दै अघि बढिरहेकी महरा हाल नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) मा सचिव छिन् ।
महिलामा पनि सुष्मा नै किन ?
निर्वाचनको मिति जति नजिक–नजिक आइरहेको छ त्यति नै सुष्मा महराको उम्मेदवारीको चर्चा देशभरका जिल्ला तथा नगर अध्यक्षहरूका बीचमा बढिरहेको छ । किनकी सुष्मा महरा जिल्ला–नगरको सशक्त आवाज बन्ने क्षमता राख्छिन्, त्यसका लागि उनी नेतृत्व अनुभव, संस्थागत आवद्धता र स्पष्ट दृष्टिकोणले खारिएकी छिन् । साथै, सामाजिक उत्तरदायित्व वहनमा समेत क्रियाशील उनी महासंघलाई गति दिने एकमात्र उम्मेदवारको रूपमा हेरिएको छ ।
साना तथा मझौला व्यवसायी (एसएमई) का समस्यालाई महासंघको केन्द्रीय तहमा दृढताका साथ उठाउन सक्ने निडरता उनीमा देखिन्छ । काठमाडौँ संघको सचिवका रूपमा कार्य गर्दा उनले व्यवसायीका हकहित र नीतिगत अस्पष्टताविरुद्ध लड्ने अनुभव बटुलेकी छिन् भने व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् । स्वास्थ्य शिविर, रक्तदान र विपन्न वर्गको उत्थानमा पुर्याएको योगदान, शालीनता र सहयोगी व्यक्तित्वको कदर गर्दै विभिन्न संघसंस्थाहरूले महत्वपूर्ण सम्मानहरू समेत प्रदान गरिसकेको छ ।
साथै झन्झटिलो कर प्रणाली, उच्च ब्याजदर र उद्यममैत्री वातावरणको अभाव जस्ता मुद्दाहरूमा महरासँग स्पष्ट कार्ययोजना छ । त्यसैले उनी भन्छिन्, ‘मेरो उम्मेदवारी पदका लागि होइन, परिवर्तनका लागि हो ।’महराले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत जितभन्दा पनि समग्र महिला उद्यमीहरूको साझा प्रतिनिधित्वका रूपमा अथ्र्याएकी छिन् । ‘महिलाको हिम्मत र आत्मविश्वासले असम्भवलाई पनि सम्भव बनाउँछ । महासंघमा हाम्रो उपस्थिति नाम मात्रको होइन, काम गरेर देखाउने हुनुपर्छ,’ उनी भन्छिन्, ‘नीति–नियमदेखि व्यावसायिक समस्यासम्म, महिला उद्यमीका मुद्दा प्रभावकारी रूपमा उठाउनु मेरो मुख्य प्रतिबद्धता हो ।’
मतदाताको उत्साह : ‘अबको मत परिवर्तनको आधार’
विभिन्न जिल्ला तथा नगरका अध्यक्षहरूले यसपटक महासंघमा नयाँ सोच र जोस भएका क्षमतावान महिला उद्यमीहरू पुग्नुपर्नेमा जोड दिएका छन् । ‘क्षमतावान महिला उद्यमीहरू महासंघमा पुग्नु आवश्यक छ र सुष्मा महरा जस्तो अनुभवी व्यक्तित्वले महासंघमा ठाउँ पाउँदा समग्र निजी क्षेत्रकै गरिमा बढ्छ,’ एक मतदाताले भने ।सुष्मा महराले सम्पूर्ण जिल्ला तथा नगर अध्यक्षहरूलाई आफ्नो अमूल्य मतमार्फत परिवर्तनको यो यात्रामा साथ दिन विनम्र आग्रह गरेकी छिन् । उनको अपिल छ, ‘यो मत केवल एउटा व्यक्तिका लागि होइन, महिला नेतृत्वको नयाँ युग र समावेशी महासंघका लागि हुनेछ । मलाई विश्वास छ, यहाँहरूको साथले समृद्धिको ढोका खोल्नेछ ।’
यस्ता छन् सुष्माका पाँच सङ्कल्प
महिला उद्यमीहरूको व्यावसायिक क्षमता अभिवृद्धि र समृद्धिमा ठोस कार्य गर्ने, व्यवसायीका समस्यालाई महासंघको माथिल्लो तहसम्म प्रभावकारी रूपमा पुर्याउने, ‘सहकार्य र विश्वास’ को शक्तिमार्फत निजी क्षेत्रको उज्यालो भविष्य निर्माण गर्ने, सिप, अवसर र आत्मविश्वास बढाउने अभियानलाई देशभर विस्तार गर्ने र उद्यममैत्री नीति निर्माणका लागि निरन्तर पैरवी गर्ने ।