शुक्रबार, ४ बैशाख २०८३
एमाले, माओवादी र एकीकृत समाजवादीसहितका दलमा आबद्ध युवाहरूले जेन–जी आन्दोलनको भावना आत्मसात् गर्दै पार्टी पुनर्गठनका लागि शीर्ष नेताहरूलाई मार्गप्रशस्त गर्न आह्वान गरेका छन् । उनीहरूले दोस्रो र तेस्रो तहका नेताहरूलाई पनि दलभित्र हस्तक्षेप गरी सुधारको दबाब दिन आग्रह गरेका छन् । एमालेका दुई केन्द्रीय सदस्यसहित २८ जना युवाले सामूहिक वक्तव्यमा लोकतान्त्रिक प्रक्रिया सबल बनाउन दलहरूको पुनर्गठन अपरिहार्य भएको निष्कर्षसमेत सार्वजनिक गरेका छन् ।
‘राजनीतिक दलहरूमा पुनर्गठन, जनतामा आशा र विश्वासको सिर्जना, ती दलहरूको लोकतान्त्रिक सहकार्य, नयाँ निर्वाचन एउटा बाटो हो । दलहरूमा अलमल, पुरानै नेताहरूको निरन्तरता, समाजमा अन्योल, निराशा र आक्रोश बढाउने शक्तिहरूको बोलबाला, बाहिरी शक्तिहरूको चलखेल र अस्थिरताको दुष्चक्र अर्को बाटो हो । राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन दलहरूको पुनर्गठन आजको मुख्य सर्त हो,’ संयुक्त आह्वानमा भनिएको छ, ‘लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरूलाई बिदा नगरीकन दलहरूको पुनर्गठन हुनै सक्दैन । त्यसैले, आ–आफ्ना दलहरूलाई पुनर्गठन गर्ने काममा कुनै पनि ढिलाइ नगर्न सबै राजनीतिक दलका दोस्रो–तेस्रो तहका नेताहरू र ती पार्टीका जिम्मेवार सदस्यहरूलाई हामी आह्वान गर्दछौँ ।’
जेन–जी आन्दोलनको माग र सन्देश स्पष्ट रहेको भन्दै उनीहरूले नेपालीहरूले राजनीति, प्रशासन र न्यायपालिकालगायत भ्रष्टाचार मुक्त, पारदर्शी र परिणाममुखी भएको देख्न चाहेको बताएका छन् । ‘राजनीतिक दलहरू जिम्मेवार बनून् भन्ने चाहन्छन् । राजनीतिमा नेतृत्वको हस्तान्तरण–पुस्तान्तरण सहज तथा स्वाभाविक होस् भन्ने चाहन्छन् । तर, मुख्य राजनीतिक दलका नेताहरूले अझै पनि उक्त सन्देश नसुनेझैँ गरेका छन् । विभिन्न बहाना गरेर फेरि पनि नेतृत्वमा रहने छलछाम गर्दै छन्, आन्दोलनको सन्देशलाई नसुन्नु वा नबुझ्नु घातक हुनेछ । यस्तो बहानाबाजीले मुलुकलाई अझै ठुला दुर्घटनातर्फ धकेल्नेछ,’ युवा नेताहरूले भनेका छन् ।
राज्य र राजनीतिको जिम्मेवारीमा रहेकाहरूले जनताका आवाज नसुनेपछि कहीँ न कहीँबाट विद्रोह हुनु अनिवार्यजस्तै भएको भन्दै उनीहरूले जेन–जीको आन्दोलनलाई समर्थन गरेका छन् । ‘यो परिस्थिति अचानक आएको होइन । राजनीतिमा संस्थागत भएको भ्रष्टाचारविरुद्ध राजनीतिक पार्टीका कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी, सञ्चारमाध्यम तथा देशभित्र र बाहिर रहेका नेपालीहरूबाट आवाज उठिरहेका थिए । राज्य र राजनीतिको जिम्मेवारीमा रहेकाहरूले ती आवाज नसुनेपछि कहीँ न कहीँबाट विद्रोह हुनु अनिवार्यजस्तै भएको थियो । जेन–जीले नेपाली समाजको ज्वलन्त मागलाई लिएर सडकमा गएपछि त्यसले सबै नेपालीको समर्थन पायो,’ उनीहरूले भनेका छन्, ‘पार्टी र राज्य कब्जामा लिएपछि जे गरे पनि हुन्छ भन्ने राजनीतिक सम्भ्रान्तहरूलाई यस आन्दोलनले घुँडा टेकाएको छ । लामो समयदेखि राजनीतिक पार्टीहरूको सुधारका लागि सक्रियतापूर्वक लागिरहेका हामीहरूलाई यसले गहिरोसँग प्रभावित पारेको छ । त्यसैले जेन–जीको आन्दोलनलाई हाम्रो उच्च सम्मान छ ।’
संविधानलाई असफल बनाउने र मुलुकलाई फेरि भूराजनीतिक दबाब र अस्थिरतातर्फ धकेल्ने कुनै पनि गतिविधिले जेन–जी आन्दोलनलाई बदनाम र असफल बनाउनेतर्फ जेन–जी अगुवा सचेत देखिएको पनि उनीहरूले औँल्याएका छन् । ‘नवयुवाको यस आन्दोलनमा घुसपैठ गरेर अनावश्यक आगजनी, तोडफोड र लुटपाट गर्नेहरूलाई स्वयं जेन–जीका जिम्मेवार प्रतिनिधिहरूले निन्दा गरेका छन् र निष्पक्ष छानबिन आयोगको गठनको माग गरेका छन्, जसमा हाम्रो पूर्ण समर्थन छ । यसका साथै यिनीहरूले जसरी पनि राजनीतिक दलको नेतृत्व कब्जा गरिरहने र पालैपालो सरकार चलाउने मुख्य नेताहरूको बहिर्गमन हुनुपर्छ भन्ने माग गरेका छन्,’ उनीहरूले भनेका छन्, ‘उनीहरू संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको र नयाँ निर्वाचनका लागि बनेको वर्तमान सरकारलाई सहयोग गर्नुपर्ने बताइरहेका छन् ।
संविधानलाई असफल बनाउने र मुलुकलाई फेरि भूराजनीतिक दबाब र अस्थिरतातर्फ धकेल्ने कुनै पनि गतिविधिले यस आन्दोलनलाई बदनाम र असफल बनाउँछ भन्ने कुरामा उनीहरू सचेत देखिन्छन् ।’ प्रगतिशील, लोकतान्त्रिक, समावेशी, न्यायपूर्ण र विकसित नेपालका लागि अग्रजहरूले करिब नौ दशकसम्म गरेको संघर्षको पछिल्लो प्रतिनिधि पुस्ताका रूपमा जेन–जीले उभ्याएको भन्दै यस्तो सुझबुझ र जिम्मेवारी बोधलाई उच्च प्रशंसा र ऐक्यबद्धता प्रकट गरेको उनीहरूले बताएका छन् ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।