शुक्रबार, ४ बैशाख २०८३
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले न्यायिक छानबिन समिति गठन नभएसम्म संसद् बहिष्कारलाई निरन्तरता दिने घोषणा गर्नुभएको छ। उहाँका अनुसार अनियमितता नियन्त्रण गर्न प्रभावकारी छानबिन आवश्यक भएकाले पार्टीको बहिष्कार अडान कायम रहनेछ।
बैठक सुरु भएपछि राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले बैठक छाडेर बाहिरिएका थिए। बहिष्कारपूर्व सांसद प्रधानले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको नैतिक आधारमा दिएको राजीनामा सकारात्मक सन्देश भएको उल्लेख गर्नुभयो। उहाँले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि पनि प्रश्न उठाउँदै भन्नुभयो, “नियतबश भएको भए राजीनामा मात्र दिएर पुग्छ कि ? अनियमित विषयहरू रोक्न न्यायिक समिति गठन गर्नुपर्छ।”
यसैबीच, रास्वपाकी सांसद चन्दा कार्कीले बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सभापति रवि लामिछानेविरुद्ध दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताउनुभयो। उहाँले अदालतको निर्णयमा सरकारले हस्तक्षेप गर्नु उचित नभएको जिकिर गर्दै, “राज्यले हस्तक्षेप गरेपछि स्वतन्त्र न्यायपालिका कसरी हुन सक्छ ?” भन्ने प्रश्न गर्नुभयो। सांसद कार्कीले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरी आर्थिक पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिँदै जनभावनाको सम्मान गर्न सबै दललाई आग्रह गर्नुभयो।