शनिवार, २ साउन २०८३
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिविरुद्ध सदनदेखि सडकसम्म विरोध भएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सोमबार प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक अवरुद्ध बनेको छ । यस्तै, बागमती प्रदेशसभा बैठक पनि प्रभावित बन्यो । प्रधानमन्त्री शाहले आइतबार संसद्मा ‘नेपालले पनि भारतको भूमि मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको’ बताएका थिए । उनको सोही अभिव्यक्तिको विषयलाई लिएर सडक प्रदर्शन भएको हो ।
प्रमुख प्रतिपक्षी कांग्रेस, एमाले, नेकपालगायत दल र तिनका भ्रातृसंगठन सडकमा उत्रिएका हुन् । एमालेले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गर्यो । कांग्रेस, नेकपालगायतका दलका युवा विद्यार्थी संगठनले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विरोध प्रदर्शन गरे । संयुक्त विद्यार्थी संगठनले पनि विरोध प्रदर्शन गरेको छ । युवा विद्यार्थीले राजधानीमा सोमबार साँझ प्रधानमन्त्रीको पुत्ला दहनसमेत गरेका छन् ।
एमाले काठमाडौं जिल्ला कमिटीको आह्वानमा माइतीघरमा प्रदर्शन भएको छ । ‘राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे’, ‘राष्ट्रघाती अभिव्यक्ति फिर्ता लेऊ’जस्ता नारा एमालेका कार्यकर्ताले लगाए । सार्वभौम सदनबाट राष्ट्रविरोधी अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्रीको कुर्चीमा बस्न नमिल्ने उनीहरूको माग छ । कांग्रेसका युवा विद्यार्थीले पनि प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले प्रदर्शनसहित प्रधानमन्त्रीविरुद्ध नाराबाजी लगाए । प्रदर्शनको क्रममा नेविसंघका नेताहरू राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाखेती र गौरव पाण्डे पक्राउ परेका छन् । कांग्रेसले पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहा गर्न माग गरेको छ ।
कांग्रेसको युवा संगठन तरुण दलले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरेको छ । प्रधानमन्त्रीले वीर पुर्खाको अपमान गरेको, राष्ट्रप्रेम स्टाटसमा मात्र देखाएका जस्ता प्लेकार्ड प्रदर्शन गरेका हुन् । नेकपाको जेन–जी संगठन रेड फोर्स नेपालले पनि प्रदर्शन गरेको छ । नेकपाले जनवर्गीय संगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ । जनवर्गीय संगठन समन्वय मोर्चाका प्रमुख राजेन्द्र पाण्डेले देशव्यापी रूपमा सशक्त संघर्ष गर्ने बताएका छन् ।
कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिलाई अक्षम्य, आपत्तिजनक र घोर निन्दनीय भएको बताएको छ । ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षासँग जोडिएको अत्यन्तै संवेदनशील विषय सीमा समस्याका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले सार्वभौम संसद्को रोस्ट्रममा उभिएर दिनुभएको हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ भन्ने गैरजिम्मेवारपूर्ण अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
एमालेले सीमासम्बन्धी प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिलाई तथ्यहीन, गैरजिम्मेवार तथा राष्ट्रहितविपरीत भएको बताएको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको स्थापित राष्ट्रिय अडान र कूटनीतिक दाबीलाई कमजोर बनाएको बताएका छन् ।त्यस्तै, नेकपाले पनि प्रधानमन्त्री शाहको अभिव्यक्तिको निन्दा र भर्त्सना गरेको छ । नेकपा प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत भनेको बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।