शनिवार, २ साउन २०८३

images

शनिवार, २ साउन २०८३

शनिवार, २ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

अंग प्रत्यारोपणमा नेपालमा ऐतिहासिक उपलब्धि : एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

यसलाई मिर्गौला साटासाट पनि भनिन्छ । आफ्नो प्रत्यक्ष आफन्तबिच प्रत्यारोपण गर्न रक्त समूह नमिलेपछि चौधरी तनाबमा थिए ।

नेपालमा पहिलोपटक एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ । सामान्यत: एउटा व्यक्तिमा तीनपटकसम्म मिर्गौला प्रत्यारोपण गर्नु जटिल र चुनौतीपूर्ण मानिए पनि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले दुर्लभ मानिने प्रत्यारोपण सफलतापूर्वक गरेको छ । गत ९ भदौमा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । चौधरी नागरिक उन्मुक्ति पार्टीका सांसद हुन् । ‘सामान्यतया मिर्गौला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गौलाले काम गर्ने गर्दछ, तर इम्युनोलोजिकल अस्वीकार, संक्रमण, क्रोनिक अलोग्राफ्ट नेफ्रोप्याथीलगायतका समस्याले पहिले प्रत्यारोपण गरिएको मिर्गौला असफल हुन सक्ने सम्भावना रहन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ, तर तेस्रोपटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ मानिन्छ । 

प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउनसमेत कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ ।’
डा. श्रेष्ठले बेलायतमा हुँदा भने यस्तो जोखिमपूर्ण प्रत्यारोपण गरेको अनुभव बटुलेका थिए । उनले नेपालमा पनि जटिल प्रत्यारोपण सम्भव भएको र कमजोर पूर्वाधार र जनशक्तिका बिच पनि प्रत्यारोपणमा केन्द्रले फड्को मारेको दाबी गरे । चौधरी मिर्गौला प्रत्यारोपणकै लागि आफ्नो मन्त्री पद त्यागेर केन्द्रमा भर्ना भएका थिए । उनको सबै प्रकारका परीक्षण गरी डोनर तयार पार्न करिब एक महिनाजति समय लागेको केन्द्रले जनाएको छ । चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण ०७२ मा भारतमा भएको थियो । दोस्रो र हालको तेस्रो प्रत्यारोपण भने केन्द्रमा डा. श्रेष्ठकै नेतृत्वमा भएको हो । चौधरीको तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणालीअन्तर्गत गैरनातेदारबिच अंग साटासाट गरी गरिएको केन्द्रले जनाएको छ । 

यसलाई मिर्गौला साटासाट पनि भनिन्छ । आफ्नो प्रत्यक्ष आफन्तबिच प्रत्यारोपण गर्न रक्त समूह नमिलेपछि चौधरी तनाबमा थिए । अस्पतालले उनीजस्तै भौतारिएका अर्का मिर्गौलापीडितलाई भेट गराएको थियो । रक्त समूह मिलेपछि दुई मिर्गौला एक–अर्कामा साटासाट भएको थियो । डा. श्रेष्ठका अनुसार नेपालमा एकै व्यक्तिमा दोस्रोपटकको मिर्गौला प्रत्यारोपण वीर अस्पतालमा सन् २०१० मै सुरु भएको थियो । तर, तेस्रो प्रत्यारोपण हुन सकेको थिएन । यो अत्यन्तै दुर्लभ उपलब्धि हो । केन्द्रले त्यही इतिहास रचेको कार्यकारी निर्देशक श्रेष्ठले बताए । यसरी सम्पन्न भएको प्रत्यारोपणले नेपालमा अंग प्रत्यारोपण सेवाको स्तर विश्वस्तरीय क्षमता र दक्षतासँग मेल खाने स्तरमा पुगेको प्रमाणित गरेको उनको भनाइ छ । 

तेस्रोपटक मृर्गौला प्रत्यारोपण गरेर नयाँ जीवन पाएका चौधरीले केन्द्रले दिने सेवा गुणस्तर रहेको र भौतिक पूर्वाधार भने निकै दयनीय र साँघुरो रहेको बताए । स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँगको भेटमा उनले आफूले केन्द्रकै कारणले नयाँ जीवन पाएको अनुभव साट्दै केन्द्रलाई जग्गा र भवन उपलब्ध गराउन पहल गर्न अनुरोध गरे । ‘अघिल्लोपटक पनि यहीँ प्रत्यारोपण गरेको थिएँ, सेवा विश्वासयोग्य छ, तर ठाउँ साँघुरो रहेछ, अब यो अस्पताललाई ठाउँ दिनुपर्‍यो मन्त्रीज्यू,’ उनले भने, ‘मजस्ता थुप्रैले यहाँ नयाँ जीवन पाएका छन् । मैले आफूलाई बढी भाग्यमानी भएको ठानेको छु, किनकि मेरो जटिल अवस्थामा पनि प्रत्यारोपण भयो ।’आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।