शुक्रबार, ४ बैशाख २०८३
काठमाडौं । समाजवादी मोर्चामा रहेका चार दलका बीचमा पार्टी एकीकरणको अन्तिम गृहकार्य भइरहेकै बेला पूर्वप्रधानमन्त्री झलनाथ खनाल पार्टी एकताको विपक्षमा उभिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेतासमेत रहेका खनाल कोही कसैसँग पनि पार्टी एकता गर्न नहुने पक्षमा उभिएका छन् । आइतबार एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टी एकता केन्द्रित छलफल चल्दैगर्दा खनालले यस्तो सन्देश प्रवाह गरेपछि पार्टी एकता नै अन्योलमा पर्ने देखिएको छ ।
गत ३ असोजमै पार्टी एकताका लागि अन्तिम गृहकार्यमा जुटेकामा जेनजी आन्दोलनका कारण एकीकरणमा ढिलाइ भएको थियो । दसैं, दीपावली तथा छठपर्वसँगै अब पार्टी एकतालाई टुंगोमा पु¥याउनेगरी नेताहरूले छलफललाई तीव्रता दिएका छन् । समाजवादी मोर्चामा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीचमा पार्टी एकताको गृहकार्य भइरहेको छ ।
वैचारिक, सांगठनिक विषयमा टुंगो लगाउनेगरी नेताहरू छलफलमा जुटेका छन् । पार्टीको संरचना, नेतृत्व, विचार, विभिन्न प्रदेशहरू एवं जिल्ला कमिटी, भ्रातृ संगठनहरूको नेतृत्व एवं कमिटीको संख्याको ’boutमा छलफल जारी रहेको छ । एकीकृत समाजवादीले पार्टी एकतालाई टुंगोमा पु¥याउनका लागि वार्ता समिति नै गठन गरेर छलफललाई तीव्रता दिएको छ । एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष डा. बेदुराम भुषालको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ । भुषाल नेतृत्वको समितिले एकता हुने दलका नेताहरूसँग छलफल अगाडि बढाउँदैगर्दा सोही पार्टीका सम्मानित नेता खनालले अहिले पार्टी एकताको आवश्यक्ता नभएको जनाएका छन् ।
माओवादी केन्द्रसँगको पार्टी एकताको विपक्षमा उभिएका खनाल पत्नीको उपचारको सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका छन् । खनालले पार्टीको सचिवालय बैठकमा पठाएको लिखित धारणामा लेखिएको छ, ‘कमरेडहरू यतिबेला हाम्रो पार्टीका निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन, हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरूलाई पार्ने दिशामा नलागौं ।’उनले सबैभन्दा पहिले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारण’मा निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । ‘सबभन्दा पहिले हाम्रो ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौं, ठीक बेठीक के ग¥र्यौ, दूध र पानी छुट्याऔं, हामीले नवौं राष्ट्रिय महाधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिऔं,’ खनालले भनेका छन् ।
उनले आफ्नो पार्टी अध्यक्ष माधवकुमार नेपालसहित वामपन्थी दलहरू दक्षिणपन्थीको पछि लागेको आरोपसमेत लगाएका छन् । त्यसैले उनले प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य भएको उल्लेखसमेत गरेका छन् । तर, एकीकृत समाजवादी पार्टीले गठन गरेको पार्टी एकता वार्ता समितिका संयोजक भुषालले अहिले माओवादी केन्द्रसहितका दलहरूसँग पार्टी एकताका ’मा जारी छलफल सकारात्मक रहेको बैठकलाई जानकारी गराएका छन् । बैठकमा अध्यक्ष नेपालले पार्टी एकता केन्द्रित आफ्ना धारणा राख्न नेताहरूलाई निर्देशन दिएका छन् । पार्टी एकता नजिक पुगेका बेला नेताहरूलाई छिट्टै नै पार्टी एकीकरण गरेर अगाडि बढ्नेमा छलफल केन्द्रित भएको बताइन्छ । अध्यक्ष नेपालले विचार मिल्ने पार्टीहरूसँग एकताको छलफल निष्कर्षमा पु¥याउन कार्यदललाई निर्देशन दिएका छन् । बैठकले एकता प्रक्रिया निष्कर्षमा पु¥याउन निर्देशन दिएको उपमहासचिव रामकुमार भट्टराईले जनाएका छन् । आजको राजधानी दैनिकमा समाचार छ।