शनिवार, २ साउन २०८३
काठमाडौँ, ३१ भदौ । सरकारले निजी क्षेत्रलाई उच्च मनोबलका साथ उद्योग व्यवसायलाई अघि बढाउन आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र कृष्णबहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिसँगको छलफलमा मुलुकलाई नयाँ ढङ्गले अघि बढाउन निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताउनुभयो । सचिवद्वयले आउँदै गरेको चाडपर्वका लागि आवश्यक खाद्यान्नलगायत सामग्री पर्याप्त मौज्दात रहेको स्पष्ट गर्दै कुनै पनि अभाव नहुने आश्वासन दिनुभयो । साथै, बजारमा कृत्रिम अभाव सिर्जना गर्नेगरी उत्पादन, भण्डारण वा ढुवानी चरणमा वस्तु सञ्चित नगर्न सरोकारवालालाई आग्रह गर्नुभयो ।
मन्त्रालयका अनुसार आपूर्ति व्यवस्थामा ठूलो अवरोध नरहेकाले सर्वसाधारणले पनि वस्तु अनावश्यक रूपमा सञ्चित नगर्नु उपयुक्त हुने बताइएको छ । परिस्थिति क्रमशः सामान्य बन्दै गएकाले उद्योग व्यवसाय सञ्चालनतर्फ अघि बढ्न मन्त्रालयले निजी क्षेत्रलाई प्रोत्साहित गरेको हो । सचिवद्वयले कोरला नाका सञ्चालनमा आइसकेको र त्यहाँबाट ठूलो मात्रामा सामान भित्रिइरहेको जानकारी दिँदै तातोपानी नाका खुलाउन पहल भइरहेको बताए । दक्षिणतर्फका नाका पनि नियमित सञ्चालनमा आइसकेको मन्त्रालयले जनाएको छ ।
छलफलमा उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले हालको विषम परिस्थितिले मुलुकलाई अप्ठ्यारोमा पारेको भन्दै अर्थतन्त्रलाई उकास्न सहकार्य र समन्वय आवश्यक भएको धारणा राख्नुभयो । उहाँले आगजनी, लुटपाट र तोडफोडले निजी क्षेत्रमा निराशा थपे पनि उत्पादनमूलक उद्योग, होटेल, रिटेल चेन तथा साना व्यवसाय नयाँ हौसला बोकेर पुनः उठ्ने प्रयासमा रहेको उल्लेख गर्नुभयो ।सरकारसँग सहकार्य गरेर अघि बढ्न निजी क्षेत्र तयार रहेको भन्दै अध्यक्ष पाण्डेले उद्यमी व्यवसायीलाई आत्मविश्वास दिलाउन सरकारको भूमिकालाई अझ सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो ।