सोमबार, ४ साउन २०८३

images

सोमबार, ४ साउन २०८३

सोमबार, ४ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

मधेशमा गर्मीको कहर : ४१ डिग्रीसम्म तापक्रम पुग्ने, जनजीवन अस्तव्यस्त

महोत्तरी, जेठ २० । पछिल्ला केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधेश प्रदेशको जनजीवन प्रभावित बनेको छ। बिहानैदेखि चर्को घाम लाग्न थालेपछि अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घरबाहिर निस्कन कठिन भएको छ भने बजार, सडक र सार्वजनिक स्थलहरू सुनसानजस्तै देखिन थालेका छन्। दिउँसोको समयमा सहर तथा ग्रामीण क्षेत्रमा मानिसको चहलपहल उल्लेख्य रूपमा घटेको छ। अत्यधिक गर्मीको सबैभन्दा बढी मार दैनिक ज्यालादारी मजदुर र किसानहरूमा परेको छ। 

गर्मीको असर व्यापार–व्यवसायमा पनि परेको छ।  दिउँसो ग्राहकको संख्या घटेकाले व्यापारमा प्रत्यक्ष असर परेको छ। अहिले अधिकांश ग्राहक साँझपख मात्रै बजार आउने गरेका छन्। यता, बढ्दो गर्मीसँगै विद्युत् खपतमा वृद्धि हुँदा गौशाला र बर्दिवास क्षेत्रमा पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या देखिएको छ। पंखा, कुलर, फ्रिज र पानी तान्ने मोटरलगायत उपकरणको प्रयोग बढेपछि विद्युत् प्रणालीमा अतिरिक्त चाप परेको स्थानीयवासीको भनाइ छ। स्थानीयहरूले हरेक वर्ष गर्मीयाममा दोहोरिने समस्याको समाधानका लागि समयमै पूर्वतयारी नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणप्रति असन्तुष्टि व्यक्त गरेका छन्। बारम्बार विद्युत् कटौती हुँदा रातिको समयमा समेत सर्वसाधारणले सास्ती भोग्नुपरेको छ।

चर्को गर्मीका कारण सर्वसाधारण दिउँसो घरभित्रै बस्न बाध्य भएका छन् भने साँझपख मात्रै पार्क, खुला स्थान र जलाधार क्षेत्रतर्फ जाने क्रम बढेको छ। केही नागरिक गर्मीबाट राहत पाउन स्वीमिङ पुलतर्फ आकर्षित भएका छन्। विद्यालयहरूमा समेत गर्मीको प्रभाव देखिन थालेको छ। पर्याप्त पंखा सञ्चालन हुन नसक्दा विद्यार्थीहरूले कक्षाकोठामा असहजता महसुस गरिरहेका छन्। जल तथा मौसम विज्ञान कार्यालय जनकपुरले आगामी तीन दिनसम्म गर्मीको अवस्था यथावत् रहने जानकारी दिएको छ। 

मधेशका जिल्लाहरूमा दिउँसोको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ। स्वास्थ्यकर्मीहरूले अत्यधिक गर्मीका कारण डिहाइड्रेसन, टाउको दुख्ने, ज्वरो आउने, चक्कर लाग्ने तथा अत्यधिक थकान महसुस हुने समस्या बढ्न थालेको भन्दै प्रशस्त पानी पिउन, घाममा लामो समय नबस्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।