शुक्रबार, ४ बैशाख २०८३
प्रधानमन्त्रीको सत्ता त्यागपछि पनि मंगलबार साँझसम्म काठमाडौँसहित देशका विभिन्न भागमा राज्यका संवेदनशील संरचनाहरू आक्रमणमा परेका छन्। सिंहदरबार, सर्वोच्च अदालतलगायत भवनमा आगजनी र तोडफोड भएपछि सुरक्षा स्थिति जटिल बनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले ‘जेन जी’ का प्रतिनिधिसहित सबै पक्षलाई वार्तामा आउन अपील गरेका छन्। उनले लोकतन्त्रमा नागरिकका मागहरू संवादमार्फत समाधान गर्न सकिने भन्दै संयमता अपनाउन आग्रह गरे।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आन्दोलन हिंसात्मक बन्नुको कारण निहत्था प्रदर्शनकारीमाथि भएको गोली प्रहारलाई ठहर गर्दै अब महत्त्वपूर्ण संरचनाको सुरक्षा सेनाले लिनुपर्ने बताइन्। नेत्ररोगविशेषज्ञ डा. सन्दुक रुइतले नयाँ सरकार बन्ने बाटो खुलेको भन्दै आन्दोलनकारीलाई शान्त हुन आग्रह गरेका छन्। “भौतिक संरचना नष्ट गर्नुको साटो नयाँ विचारसहित सरकारलाई अघि बढाउन सहयोग गर्नुपर्छ,” उनले भने।
नेपाली सेनाका प्रधानसेनापतिले मंगलबार राति सम्बोधन गर्दै सम्पदा, सार्वजनिक सम्पत्ति, नागरिक र कूटनीतिक नियोगको सुरक्षा सेनाले गर्ने स्पष्ट पारे। सेनाले जारी गरेको विज्ञप्तिमा केही समूहले परिस्थितिको फाइदा उठाउँदै लुटपाट र आगजनी गरिरहेको भन्दै त्यस्ता गतिविधि नगर्न चेतावनी दिइएको छ। सेनाले राति १० बजेदेखि स्थिति नियन्त्रणमा लिन दृढ रहने बताएको छ।