बिहिबार, ७ फाल्गुण २०८२
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा गुल्मीको राजनीतिक माहोल झनै तातिएको छ। नेकपाका उम्मेदवारद्वयले जिल्लाका दुवै क्षेत्रमा आफ्नो जित “निश्चित” रहेको दाबी गर्दै त्यसको आधार माओवादी जनयुद्ध र जनआन्दोलनका उपलब्धि, वर्तमान संविधान र संघीय व्यवस्थालाई बनाएका छन्। उनीहरुले आजको लोकतान्त्रिक गणतन्त्र, समावेशी राज्य संरचना र अधिकारसम्पन्न नागरिकको अवधारणा दशकौं लामो संघर्षको परिणाम भएको र त्यसलाई सँस्थागत एबं प्रभावकारी कार्यन्वयन गर्न नेकपाले जित्नुपर्ने बताए।
आज काठमाडौँमा गुल्मी- काठमाडौँ सम्पर्क समन्वय समितिले राखेको उमेदवार भेटघाट तथा परिचय कार्यक्रममा बोल्दै क्षेत्र-१ का उमेदवार सुदर्शन बराल र क्षेत्र-२ का उमेदवार श्रीराम महतले नेकपाको जित बिना आजको उपलब्धिको रक्षा नहुने भन्दै तारा चिन्हमा मतदान गरेर देशको भविष्य जोगाउन अपिल गरेका छन्। “हामीले लडेको युद्द र जनआन्दोलन केवल सत्ता परिवर्तनका लागि मात्र थिएन यो संरचना परिवर्तनका लागि थियो,” उनीहरूको भनाइ छ । उम्मेदवारहरूले विगतका उपलब्धि, संगठनको मजबुती र जनताको साथलाई आधार बनाउँदै आफूहरू विजयी हुने विश्वास व्यक्त गरेका हुन्। उनीहरूले भने, “गुल्मी विकासको गतिमा अघि बढिसकेको छ, अब त्यसलाई स्थायित्व र निरन्तरता दिन नेकपालाई पुनः जनमत आवश्यक छ।”
जनयुद्धदेखि संविधानसम्म
उम्मेदवारद्वयका अनुसार सशस्त्र द्वन्द र त्यसपछिको शान्ति प्रक्रियाले मुलुकलाई नयाँ राजनीतिक मार्गमा डोराएको भन्दै विस्तृत शान्ति सम्झौतापछि बनेको अन्तरिम संविधान हुँदै जारी भएको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको र आज हामीले पाएको अधिकार, समानुपातिक समावेशिता, महिला–दलित–आदिवासी जनजातिको प्रतिनिधित्व—यी सबै उपलब्धि आन्दोलनकै देन भएकाले त्यसको रक्षा गर्न नेकपाले जित्नुपर्ने दावी गरेका छन्।
विकासका एजेण्डा अघि सार्दै
नेकपाले यस पटक चुनावी अभियानलाई विकास–केन्द्रित बनाएको छ । सडक स्तरोन्नति, कृषि आधुनिकीकरण, युवा रोजगारी, स्वास्थ्य सेवा विस्तार र शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि प्रमुख एजेण्डा बनाएको नेकपाले अब जनतासँग सिधै सम्बन्ध राख्नेछ। गुल्मीका दुर्गम बस्तीमा सडक पहुँच विस्तार, सिँचाइ आयोजनाको तीव्रता र पर्यटन प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्ने लगायत योजना अघि सार्दै “हामी भाषण होइन, काममा विश्वास गर्छौं,” उनीहरुको भनाइ छ ।
गाउँमै सिंहदरबार
संघीय व्यवस्थाले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएको र विकासका निर्णय गाउँमै हुने वातावरण सिर्जना गरेको उम्मेदवारहरूको दाबी छ। “गाउँमै सिंहदरबार पुगेको छ, अब विकासका ढोका जनताको हातमा छन्,” उनीहरूले भने। ग्रामीण क्षेत्रमा सडक, विद्युत्, खानेपानी, स्वास्थ्य चौकी र विद्यालय पूर्वाधार विस्तार संघीय संरचनाकै कारण सम्भव भएको उल्लेख गर्दै उनीहरूले अब दोस्रो चरणको आर्थिक समृद्धि अभियानमा केन्द्रित हुने बताए।
समावेशीता र सामाजिक न्याय
माओवादी आन्दोलनको मूल मर्म सामाजिक न्याय र समानता रहेको भन्दै उम्मेदवारहरूले समावेशी राज्य संरचना अझ बलियो बनाउने प्रतिबद्धता जनाएका छन्। युवालाई रोजगारी, कृषिमा आधुनिकीकरण, महिला सशक्तीकरण र सीमान्तकृत समुदायको उत्थानलाई प्राथमिकतामा राख्दै संविधानले दिएको अधिकारलाई व्यवहारमा उतार्ने जिम्मेवारी आफुहरुको रहेको उनीहरुको धारणा थियो।
जनतामैत्री प्रतिबद्धता
उम्मेदवारहरूले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने, पारदर्शी प्रशासन सुनिश्चित गर्ने र नागरिकका आधारभूत आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय बासिन्दासँग सहभागी हुँदै उनीहरूको समस्या प्रत्यक्ष सुन्ने र तत्काल समाधानको पहल गर्ने वाचा गरेका छन्। किसान, मजदुर, महिला, युवा तथा ज्येष्ठ नागरिकलाई लक्षित कार्यक्रममार्फत समावेशी विकासको खाकासमेत उनीहरुले तयार पारेका छन्।
मतदातासँग अपिल
नेकपाका उम्मेदवारहरूले स्थिरता, संविधानको रक्षा र संघीयताको सुदृढीकरणका लागि आफ्नो पक्षमा मतदान गर्न अपिल गर्दै “संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समृद्ध गुल्मी निर्माण आफ्नो साझा लक्ष्य भएको बताएका छन्। निर्वाचनको मिति नजिकिँदै गर्दा गुल्मीका मतदाताले राजनीतिक दलका एजेण्डा गम्भीर रूपमा मूल्याङ्कन गरिरहेको भन्दै उनीहरुले परिणाम आफ्नो पक्षमा आउने दावी गरेका छन्। उम्मेदवारहरूको दाबी जस्तै परिणाम आउँछ कि आउँदैन भन्ने टुंगो भने मतपेटिकाले नै लगाउनेछ।