सागमा स्वर्णको शतक

  • प्रकाशित मिति : बिहिबार, मंसिर १९, २०७६
  • न्युज बिहानी

दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बुधबार अर्को कोसेढुंगा पार गरेको छ। सागको इतिहासमा नेपालले जितेको कुल स्वर्ण पदक संख्या एक सय पुगेको छ। नेपालका लागि दक्षिण एसियाली खेलकुदमा एक सयौं स्वर्ण पदक जित्ने अवसर घरेलु मैदानमै जुर्नु अर्को संयोग हो।

हाल नेपालमा सागको १३औं संस्करण जारी छ। पहिलो संस्करण सम्पन्न भएको ३५ वर्षपछि नेपालले यस्तो उपलब्धि हासिल गरेको हो। नेपालका लागि एक सयौं स्वर्ण जित्ने सौभाग्य तेक्वान्दो खेलाडी सक्षम कार्कीलाई जुर्‍यो।



सक्षमले सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको पुरुष ८७ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जितेका हुन्। उनले फाइनलमा पाकिस्तानी खेलाडी वकार अली खानलाई पराजित गरे। सक्षमको स्वर्णसँग १३औं सागमा नेपालले जितेको स्वर्ण पदक संख्या २९ पुगेको छ।

नेपाल दक्षिण एसियाली खेलकुदको अवधारणाकार र पहिलो संस्करणको आयोजक हो। सन् १९८४ मा काठमाडौंमा सम्पन्न पहिलो दक्षिण एसियाली महासंघीय खेलकुद ९साफ० मा नेपालले चार स्वर्ण, १२ रजत र आठ कांस्य जितेको थियो। सन् २००४ पछि मात्र साफको नाम परिवर्तन गरी दक्षिण एसियाली खेलकुद ९साग० राखिएको हो।

सन् १९८५ मा बंगलादेशको ढाकामा सम्पन्न दोस्रो संस्करणमा नेपालले एक स्वर्ण जितेको थियो भने सन् १९८७ मा भारतको कोलकातामा सम्पन्न तेस्रो साफमा दुई स्वर्ण हात पारेको थियो। सन् १९८९ मा पाकिस्तानको इस्लामाबादमा सम्पन्न चौथो साफमा एक स्वर्ण हात पारेको नेपालले सन् १९९१ मा श्रीलंकाको कोलम्बोमा भएको पाँचौं संस्करणमा दुई स्वर्ण चुमेको थियो।आजको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ।