महानिर्देशकबाटै वामन अवतारको मूर्ति अपहरण

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १, २०७६
  • न्युज बिहानी

शताब्दीपुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले कुनै बेला मूर्ति अपहरण गर्नुभएको थियो । यो उहाँले नै सुनाउनुभएको हो । उहाँले राजा मानदेवले स्थापना गरेको भगवान् विष्णुको वामन अवतारको मूर्ति अपहरण गर्नुभएको हो तर सुरक्षाका लागि ।अहिलेभन्दा छ दशकअघि नारायणहिटी राजदरबारको उत्तरतर्फ रहेको वामनको मूर्ति उहाँले मध्यरातमा अपहरण गर्नुभएको थियो । उहाँ त्यतिबेला पुरातŒवका निर्देशक हुनुहुन्थ्यो । त्यतिबेला मूर्ति चोरीको बिगबिगी रहेछ ।

उक्त प्रसङ्ग उठाउँदै उहाँले भन्नुभयो, “त्यो बेला यति मूर्ति चोरी भए कि बयानै भएन । जहाँतहीँ मूर्ति चोरी हुने । विदेशीहरू पनि आउने । क्रेन नै आएर ठाउँठाउँको मूर्ति चोर्न लाग्यो । मूर्ति चोरेर लग्यो भने कि जर्मन हुन्छ, कि बेलायत हुन्छ, कि अमेरिका हुन्छ कि फ्रान्स पुग्छ कहीँकतै जान्छ । ”मूर्तिका कलाका बारेमा स्पष्ट पार्दै भन्नुभयो, “यति कलात्मक मूर्ति रहेछ कि त्यो जत्तिको मूर्ति अहिले पनि बनाउन सकिँदैन । मूर्तिमा एक किसिमको महाकाव्य नै रहेछ । ” अपहरण गर्दाको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो, “यो मूर्ति एक रहँदैन, दुई रहँदैन, तीन रहँदैन भन्ने पक्कापक्की भएपछि कसैलाई थाहा नदिई मैले अपहरण गरेँ मध्यरातमा । त्यो मूर्ति नरहेको भए काव्यकृति पनि जाने भयो । त्यति पुरानो काव्यकृति अहिलेसम्म पाएको छैन । ”



विष्णुविक्रान्तको उक्त मूर्ति लिच्छवि राजा मानदेवले आफ्नी आमा राज्यवतीको नाममा संवत् ३८९ मा प्रतिस्थापन गर्नुभएको थियो । यो मूर्ति पौराणिक साहित्यमा वर्णित ‘बलिहरण’ कथामा आधारित छ । उक्त मूर्तिको प्रस्तुतिमा विष्णुले स्वर्ग र पाताल ढाकेको देख्न सकिन्छ ।उहाँले मध्यरातमा उठाएर पुरातŒव विभागअन्तर्गत रहेको घण्टाघरको पछिल्तिरको वीर पुस्तकालयमा कसैले थाहा नपाउने गरी छोपछाप गरेर लुकाउनुभयो । उहाँले त्यसपछिको अवस्थाका बारेमा सुनाउनुभयो, “हाहाकार मच्चियो नेवारहरूको देवाली पूजा गर्ने देउता रहेछ । नेवारहरूले थाहा पाएको भए मलाई चकनाचुर गरेर धुलोपिठो पार्थे । ” वीर पुस्तकालयमा छ महिना लुकाएपछि सबै शान्त भएपछि त्यसलाई राष्ट्रिय सङ्ग्रहालय छाउनीमा सारिएको जानकारी दिनुभयो ।आजको गोरखापत्र दैनिकमा समाचार छ।

अपहरण गर्ने काम गलत भए पनि आफूले गरेको अपहरण सही थियो भन्ने दाबी छ उहाँको । उहाँले भन्नुभयो, “मैँले पुरातŒव विभागको महानिर्देशक भएर सबैभन्दा ठूलो काम गरेको र जिन्दगीमा सबैभन्दा मलाई आनन्द हुने काम त्यही गरे । अपहरण गर्न नहुने हो तर मलाई जागिर गए जाओस् तर त्यो मूर्ति बचाउनैपर्छ । त्यति नगरेको भए त्यो मूर्ति अहिले हुँदैनथ्यो । संस्कृति जोगाउन मैले गरेको सबैभन्दा गर्वको काम हो । ”त्यतिबेलाको नारायणहिटी राजदरबारको पछिल्तिर रहेको धोबीचौरमा रहेको सानो थुम्कोमा प्रस्तरको मूर्ति रहेछ । उहाँले भन्नुभयो, “मन्दिर त थिएन, त्यहाँको शिलालेखअनुसार त्यो त एक हजार छ सय वर्ष अगाडिको रहेछ । कुन बेला के भयो मन्दिर थिएन, मन्दिर नभएको हुनाले ढुङ्गाको जलहरी र त्यो मूर्ति त्यही रह्यो । मूर्तिलाई चम्काइराखेको थियो । मूर्तिको पादपीठमा स्रग्धरा छन्दमा लिच्छवि लिपिमा एउटा श्लोक थियो । त्यो मूर्ति हराएपछि त सम्पूर्ण कलाकृतिको ढुकढुकी नै गयो । नेपालको इतिहास नै गयो । ”

राष्ट्रिय सङ्ग्रहालयका सङ्ग्राहलय अधिकृत शर्मिला उप्रेती अर्यालले उक्त मूर्ति लाजिम्पाटमा राजा मानदेवले स्थापना गरेको जानकारी दिँदै भन्नुभयो, “यो चाहिँ मानदेवको पालाको मूर्ति हो, अभिलेखसहितको छ । यसमा विष्णुको वामन अवतार देख्न सकिन्छ । ” उहाँले यस्तो मूर्ति दुईवटा रहेको एउटा सङ्ग्रहालय र अर्को तिलगङ्गामा रहेको पनि जानकारी दिनुभयो ।बलिराजा एकदम दानी थिए । उनले गरेको दानको प्रशंसाले स्वर्ग र जताततै हल्लिएपछि विष्णुले वामन अवतार लिएर बलि राजाकोमा भिक्षा माग्न आए । राजाले के चाहियोभन्दा तीन पाइला जमिन दिनुस् भनेपछि राजाले हुन्छ भने । त्यसपछि देखिएको विष्णुको अवतारलाई उक्त मूर्तिमा देखाइएको छ । विष्णुको एक पाइलाले आकाश ढाक्यो, एक पाइलाले पाताल र अर्को पाइला कहाँ राखौँभन्दा बलिले मेरो शिरमाथि राख्नु भनेको र बलि धस्सिएर पाताल पुगेको सबै कथात्मक चित्रण उक्त मूर्तिमा गरिएको छ । उहाँले राजा जय बर्माको मूर्ति भेटिनुअघि सबैभन्दा पुरानो त्यही मूर्ति रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला यो सबैभन्दा पुरानो थियो । पछि मालीगाउँमा अर्को भेटियो संवत् १०७ को फेला प¥यो, दोस्रो शताब्दीको । ”