गुट-उपगुटले ग्रस्त कांग्रेस

  • प्रकाशित मिति : बुधबार, पुस ९, २०७६
  • न्युज बिहानी

पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ। विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिन्छ। तर एक वर्ष समय थप गर्ने समझदारी पार्टीभित्र निर्माण गरिसकेका देउवाले निर्वाचित भएपछिका दिनमा गुटबन्दी अन्त्य त परैको कुरा भयो विधि अनुसार पार्टी चलाउन पनि सकेनन्।

१३औं महाधिवेशन अन्त्यसँगै अर्को महाधिवेशनको जोडघटाउ र नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा सुरु हुँदा कांग्रेसमा उल्ट्टै गुटबन्दी झागिन पुग्यो। जसले गर्दा पार्टी पनि विधिअनुसार चल्न सकेन। आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह कांग्रेसमा सक्रिय हुँदा केन्द्रदेखि गाउँसम्मको संगठन विभाजित भएको छ। केन्द्रीय र जिल्ला समितिबाहेक पार्टीका सबै निकाय र अंग निष्क्रिय बनिरहेका बेला १४औं महाधिवेशनको कार्यतालिकालाई लिएर केन्द्रीय समिति पनि अनिर्णीत बन्न पुगेको छ।



प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजयपछि राष्ट्रिय राजनीतिमा पनि भूमिकाबिहीन बनेकोे कांग्रेसका नेताको ध्यान अहिले पनि संगठन होइन गुट निर्माणमै केन्द्रित छ। नेताहरू संगठन बनाउनभन्दा पनि एकअर्कालाई कमजोर देखाएररबनाएर आगामी महाधिवेशनको परिणाम अआफ्नो पक्षमा पार्न उद्यत् देखिन्छन्। संस्थापन र इतर पक्ष आआफ्नै स्वार्थखातिर सक्रिय हुँदा करिब दुई साताअघि बोलाइएको केन्द्रीय समिति बैठक बस्न सकेको छैन।आजको नागरिक दैनिकमा समाचार छ।