मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन : ‘काम नगर्ने ठेकेदारको जमानत जफत गर्नुस्

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १०, २०७६
  • न्युज बिहानी

प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्ना मन्त्रालयमा भएका ठेक्काको स्थिति १५ दिनभित्र बुझाउन मन्त्रीहरूलाई निर्देशन दिएका छन् । सरकारको चौमासिक समीक्षा बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै ओलीले गुणस्तरीय काम समयमा हुन नसक्नुको कारण खोज्न र काम गर्न नसक्ने ठेकेदारको जमानत जफत गर्न निर्देशन दिए ।

‘ठेक्का दिने काम सार्वजनिक ऐनको दफा ५९ (८) बमोजिम भएको छ कि छैन हेर्नुस्,’ प्रधानमन्त्री ओलीको निर्देशन उद्धृत गर्दै प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘ठेक्कापट्टामा एउटैले धेरै ओगट्ने प्रवृत्ति छ, सामर्थ्यकै अभाव भएकाले पनि एक–दुईवटाको काम देखाएर ठेक्का ओगट्न भएन । यो विषयमा अध्ययन गर्नुस् ।’ ऐनको उक्त दफामा सार्वजनिक निकायसँग खरिद सम्झौता गर्नेले सम्झौताबमोजिम काम सुरु नगरेमा, बीचैमा छोडेमा या सम्झौताअनुसार कामको प्रगति नभएमा ठेकेदारको जमानत जफत गर्न सकिने व्यवस्था छ ।



प्रधानमन्त्री ओलीले सधैं यही स्थितिलाई निरन्तरता दिन नसकिने बताउँदै ठेकेदारलाई दिइँदै आएको २० प्रतिशत परिचालन खर्चका बारेमा पनि प्रश्न उठाएका छन् । ‘यो अनावश्यक कुरा हो, यो विकासका नामको तमासा हो,’ उनले भने, ‘यसरी दिनु आवश्यक छैन । कुन ठेकेदारले कतिवटा काम फ्लप खुवाएको छ भन्ने पनि हेर्नुपर्छ । ठेकेदारको क्षमताको प्रश्नलाई नयाँ ढंगले परिभाषित गर्नुपर्छ ।’

यस्तै उनले मन्त्रालयहरूले विभिन्न नाममा वितरण गरेका अनुदानका बारेमा पनि प्रश्न उठाएका छन् । ‘तपाईंहरूले कहाँ–कहाँ के–के शीर्षकमा अनुदान दिनुभएको छ, हरेक मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा १५ दिनभित्र विवरण पठाउनुस्,’ उनले भने, ‘तिनको के–कति सदुपयोग भएको छरछैन, कसले पाएको छ, के रोजगारी दियो, म अनुगमनमा मान्छे पठाउँछु ।’आजको कान्तिपुर दैनिकमा समाचार छ।