सर्वपक्षीय बैठकको निष्कर्ष : नेपालली भुमि , कूटनीतिक वार्तामार्फत फिर्ता गर्नुपर्ने

  • प्रकाशित मिति : आइतवार, कार्तिक २४, २०७६
  • न्युज बिहानी

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वपक्षीय बैठकले नेपालको भूमि रक्षा गर्न सरकारले कूटनीतिक एवं वार्तामार्फत समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ । मुुलुकको सार्वभौमिकतासँग जोडिने सीमा सुरक्षाका विषयमा साझा सहमति गरेर अघि बढ्ने निष्कर्षसमेत सर्वपक्षीय बैठकले गरेको छ । बैठकमा सहभागीले कालापानी, लिपुलेक र लिम्पियाधारा नेपाली भूमि नै भएकाले ती भूमिको रक्षाका लागि सरकारले तत्काल आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालाई आफ्नो भूभाग भएको उल्लेख गरेको छ । सो नक्सा सार्वजनिक भएसँगै नेपालमा विरोध चर्कंदै आएको छ भने सरकारले समेत भारतको सो नक्सा अस्वीकार्य हुने जनाएको छ । परराष्ट्र मन्त्रालयले यी भूमि नेपालकै भएको भन्दै प्रेस विज्ञप्तिमार्फत स्पष्ट पारिसकेको छ ।भारतीय नक्साको चौतर्फी विरोध भएपछि नेपालको एउटै मत बनाउने उद्देश्यले प्रधानमन्त्री ओलीले शनिबार सर्वपक्षीय बैठक बोलाएका हुन् ।



प्रधानमन्त्री ओलीले बोलाएको सो बैठकमा सहभागी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत अन्य सबै दल, पूर्वप्रधानमन्त्रीहरू र परराष्ट्रविद्ले भारतले गरेको नेपाली जग्गाको अतिक्रमणविरुद्ध साझा राष्ट्रिय धारणा बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले एकतर्फी रूपमा सार्वजनिक गरेको नक्साले नेपाली जनताको भावनामा चोट पुगेको बताए । उनले सर्वदलीय बैठक आयोजना गर्नुको उद्देश्य प्रस्ट पार्दै सीमालगायतका विषयमा साझा धारणा बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।आजको राजधानी दैनिकमा समाचार छ ।