संघीय निजामती सेवासम्बन्धी विधेयकमा व्यापक थपघट

  • प्रकाशित मिति : शनिबार, माघ १९, २०७५
  • न्युज विहानी

काठमाडौं । सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयकमा व्यापक थपघट गरेको छ । सोअनुसार अब सरकारी सेवाको नायब सुब्बामा कुनै किसिमको परीक्षा हुने छैन । सचिव बन्नका लागि पनि नेतृत्व परीक्षण गरिने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकमा रहेका प्रावधानमा व्यापक थपघट गर्दै यस्तो व्यवस्था गरेको हो । लोकसेवा आयोगले केही विषयमा असहमति जनाउँदै डेढ दर्जन सुझाव दिएपछि सरकारले सोहीअनुसार विधेयकमा प्रस्ताव गरिएका प्रावधान हेरफेर गरेको हो ।



प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हेरफेर गरेको सो विधेयकमा अब सहसचिवबाट सचिव बन्नका लागि पनि निश्चित योग्यता तथा नेतृत्व परीक्षण गरिने प्रावधान समेटिएको छ । लोकसेवा आयोगद्वारा नेतृत्व परीक्षणका क्रममा उत्तीर्ण हुने सहसचिवहरू मात्रै सचिवका लागि योग्य हुनेछन् ।

हाल कार्यसम्पादन र ज्येष्ठताका आधारमा सहसचिवहरू सचिवमा बढुवा हुने प्रावधान छ । यसैगरी, विधेयकमा अब नायब सुब्बाको खुला तथा आन्तरिक सबै खाले प्रतिस्पर्धा हटाइएको छ । खरिदारबाट नै बढुवाको आधारमा नायब सुब्बा हुने प्रावधान समेटिएको छ । यसैगरी, खरिदारको परीक्षाका लागि आवश्यक पर्ने योग्यता एसएलसीबाट आईए कायम गरिने भएको छ ।