महिला हिंसाविरुद्ध अभियान : दुर्गादेवीमाथि डिजिटल हिंसा

  • प्रकाशित मिति : बिहिबार, मंसिर १२, २०७६
  • न्युज बिहानी

नेपालसहित करिब एक सय ८० मुलुकमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा पश्चिम नेपालको एक सानो गाउँकी दुर्गादेवीले पहिलो पल्ट यस अभियानसँग आफू जोडिएको आभास गरेकी छन्। यसको पछाडिको कारण भने सुखद छैन। मंगलबार दिउँसो उनी यही अभियानका लागि बनाइएको ब्यानरमा लेखिएको नारा सच्याउन महेन्द्रनगर बजार पुगेकी थिइन्। विगत पाँच महिनादेखि उनले नगरपालिकाको कार्यालयमा सहयोगीका रुपमा काम गर्दै आएकी छन्।

दुर्गादेवी बलात्कारपछि हत्या भएकी १३ वर्षीया निर्मला पन्तकी आमा हुन्। निर्मला गत वर्ष हत्या गरिएको अवस्थामा कञ्चनपुरस्थित उनको घरबाट केही किलोमिटरको दूरीमा रहेको उखुबारीमा फेला परेकी थिइन्। निर्मलाको बलात्कारपछि भएको हत्याको विषयले मुलुकलाई नै आन्दोलित बनाएको थियो। उनका हत्यारालाई कारबाही माग गर्दै गत वर्ष लामो समयसम्म देशभर व्यापक विरोध प्रदर्शन भएको थियो। तर अहिलेसम्म पनि प्रहरीले उनका हत्यारालाई कारबाहीको दायरामा ल्याउन सकेको छैन। निर्मालाको न्यायको लडाइँ जारी नै छ। दुर्गादेवीले छोरीको बलात्कार र हत्या स्थानीय दिलीप सिंहले गरेको आरोप लगाएकी छन्। अनुसन्धान भइरहेको यो घटनाबारे प्रहरीले भने मुख खोल्न चाहेको छैन।



‘तपाईं जुन ब्यानर सच्याउन जानुभयो, त्यो तपाईंले पढ्न सक्नुहुन्छ रु’ यसमा दुर्गादेवीको जवाफ थियो, ‘म पढ्न सक्छु, यसमा महिला हिंसाका बारेमा लेखिएको छ, यो महिला हिंसा अन्त्य गर्नका लागि हो।’ दुर्गादेवी महिला हिंसा त्यति बेला भएको महसुस गर्छिन् जति बेला न्यायका लागि ठूलो स्वरमा रुँदा समेत सुन्ने कोही हुँदैन। सामाजिक सञ्जाल र अनलाइन मिडियाले निर्मला प्रकरण सामसुम पार्न दुर्गादेवीले लाखौं रुपैयाँ लिएको आरोप लगाइरहेका छन्। ‘मानिसहरुले मेरो बारेमा अनावश्यक आरोप लगाइरहेका छन्। उनीहरुलाई थाहा छ, मलाई कसैको सहयोग छैन तर अनावश्यक रुपमा आरोप लाग्न थालेपछि म कठोर बन्दै गएकी छु।’आजको नागरिक दैनिकमा समाचार छ।