पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछानेसहित ३ जना प्रहरीद्वारा पक्राउ

                               

चितवनको एक होटलमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोको आधारमा   प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पनि  पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको हो । यसको केही घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो ।
चितवनको एक होटलमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा आफूलाई मर्न बाध्य पार्ने उनीहरु तिन जना भएको  भन्दै नाम लिएका थिए । गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए ।

भिडियोमा पुडासैनीले आफूलाई रवि लामिछाने, कार्की र युवराज कँडेलले मर्न बाध्य बनाएको आरोप लगाएका छन्। रवि चर्चित टेलिभिजन कार्यक्रम जनतासँग सिधा कुराका सञ्चालक हुन्। कँडेल पनि सोही कार्यक्रममा काम गर्छन्। पुडासैनी पनि केही समयअघिसम्म सोही कार्यक्रमको ‘टिम मेम्बर’ रहेका थिए।

पुडासैनीको सोही भिडियो वयानका आधारमा प्रहरीले न्युज २४ टेलिभिजनमा सीधा कुरा जनतासँग कार्यक्रम सञ्चालक रवि लामिछाने र सोही कार्यक्रममा कार्यरत युवराज कँडेललाई पक्राउ गरेको  हो । लामिछाने, कँडेल र कार्की आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका छन् ।

साउन २२ गते दिउँसो ३ः ३० बजे होटलको २०२ नम्बर कोठामा गएका उनलाई होटलवालाले राति खान खान बोलाउँदा चुकुल नखोलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी मृत भेटिएका थिए ।रवि लामिछानेलाई पक्राउ गर्नुअघि प्रहरीले पुडासैनीको भिडियो प्रहरी प्रधान कार्यालयमा मगाएर परीक्षण गरेको थियो ।