११ वटा वडा कार्यालयमा चोरी गर्ने दुई पक्राउ

                               

काठमाडौं । पोखरा महानगरका ११ वटा वडा कार्यालयहरुमा चोरी गर्ने चोर कास्की प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ११ वटा वडामा चोरी गर्ने एक जना र चोरीको सामान खरिद गर्ने एक गरि दुई जनालाई बुधबार कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक समेत गरेको छ ।

पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दानबहादुर कार्कीले दिएको जानकारी अनुसार काठमाडौं ११ स्थाही घर भइ हाल पोखरा १० कालिकाचोक स्थित एक घरमा डेरा गरी बस्ने वर्ष ५१ का किशोर थापाले वडा कार्यालयहरुमा चोरी गरेका थिए । हालसम्म ११ वटै वडामा भएको चोरीको अनुसन्धान थापा संग सोधपुछ गर्दा उनि एक्लैले चोरी गरेको भेटीएको समेत कार्कीले जानकारि दिएका छन ।

पोखरा महानगरमा रहेका ३३ वडा मध्ये सुरुमा २ जेठ २०७५ मा १२ नम्वर र अन्तिममा २१ साउन ०७६ मा ६ नम्वर वडामा चोरी भएको थियो । एक पछि अर्को गदै भएको श्रृखलाबद्ध चोरीका कारण चोरीमा संम्लग्नहरु पक्राउ नपर्दा कास्की प्रहरीलाई टाउको दुखाईको विषय बनेको थियो भने महानगरका वडाहरु समेत असुरक्षित बन्दै गएका थिए ।

चोर पत्ता लगाउन प्रहरीले प्रत्येक चोरीका घटनाको सुक्ष्म अध्ययन सँगै विभिन्न वैज्ञानिक उपकरणको प्रयोग गरी चोरीमा संग्लन ब्यक्ति तथा समूहको खोजतलास र निग्रानी सगै चोरी भएका सामानहरु बिक्रि बितरण तथा बनाउने पसलहरु समेतमा समन्यव गरी चोरी गर्ने व्यक्ति तथा समूहको खोजि कार्य तिब्र रुपमा अगाडी वढाएको थियो ।

२६ साउनमा वडा प्रहरी कार्यालय पोखरा ६ बैदामको टोलीले शंकास्पद रुपमा हिँडिरहेको र वसीरहेको अवस्थामा थापालाई पक्राउ गरेको थियो । पक्राउ परेका थापालाई सोधपुछ गर्दा आफुले वडा कार्यालयहरुमा चोरी गरेको बताएका थिए । पक्राउ परेसँगै थापालाई चोरी तथा डाँका सम्बन्धी कसुर अन्र्तगत कस्की अदालतमा मुद्दा दर्ता गरी वडा प्रहरी कार्यालय बैदामको हिरासतमा राखि थप अनुसन्धान कार्य भै रहेको कार्कीले जानकारी दिएका छन ।

थापाले चोरी गर्दा रातको साढे ११ बजेदेखी १२ वजेसम्म रेकी गरि चोरी गर्ने गरेको र चोरी गरेपछि सामानहरु वोरामा हाली चोरी गरेको स्थान नजिकै बन्दै गरेको घरहरुमा गएर वस्ने र विहान भएसगै काठमाण्डौ पठाउने गरेको समेत कार्कीले जानकारी दिएका छन । अनुहार नचिनिने गरि माक्स लगाएर चोरी गर्ने गरेका कारण चोर पत्ता लगाउन प्रहरीलाई सास्ती भै रहेको थियो ।
सुरक्षा गार्डहरु कोही नहुने भएकाले वडा कार्यालय चोर्न गर्न सजिलो हुने र सवारी साधनको पहुँचका कारण गाउँमा चोरी गर्न गाह्रो हुने तथा सजिले नहुने भएकाले शहर केन्द्रित भएर चोरीमा लागेको समेत थापाले प्रहरीलाई बताएका थिए ।

प्रहरीले थापाको कोठावाट कालो रंगको झोलामा लुकाई छिपाई राखेको अवस्थामा तोसिवाको ल्यापटप एक, ल्यापटपको चार्जर एक, सोनी क्यामरा एक, फलामको रड दुई वटा, स्क्रु ड्राईभर एक, कालो पंजा २ जोर र कालो माक्स एक थान वरामद गरेको कार्यक्रममा जानकारी दिएका छन ।