शुक्रबार, ४ बैशाख २०८३
प्रतिनिधिसभा निर्वाचन मिति नजिकिँदै जाँदा जेन–जी र एमालेबिचको वाक्युद्ध भौतिक झडपकै चरणमा प्रवेश गरेको छ । विश्लेषकहरूको सुझाव छ– निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउने प्रयास गरिरहेको सरकार, निर्वाचनमार्फत आफ्ना एजेन्डा स्थापित गराउन चाहेको जेन–जी र २३–२४ भदौको आन्दोलनलाई वैधानिकता दिन अस्वीकार गर्दै निर्वाचनमा जान आनकानी गरिरहेको एमालेले संयमता देखाउनुपर्छ । सिमरामा घटनापछि सरकार र जेन–जीले संयमताको अपिल गरेका छन् भने एमालेले आफ्ना नेताका अभिव्यक्ति उतेजनापूर्ण नरहेको बरु त्यसलाई निर्वाचनको खबरदारी गर्ने हेतुका रूपमा बुझ्नुपर्ने दावी गरेको छ । तर, एमाले नेताका अभिव्यक्ति र कार्यकर्ताका गतिविधिले देशमा थप संकट निम्तिने चेतावनी जेन–जीहरूको छ ।
चुनावी वातवरणका लागि दलहरूसँग प्रधानमन्त्री कार्कीले सामूहिक छलफल गरेकै दिन सिमरामा भएको झडप र हिंसाले सरकारलाई झस्काएको छ । बुधवार राती सामाजिक संजालमार्फत प्रधानमन्त्री कार्कीले अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न सवैसँग अपिल गरेकी छिन् । ‘बाराको सिमरामा आज देखिएको तनाव र हिंसा अत्यन्तै दु:खद छ । म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन । युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो । तर, यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट होइन’, प्रधानमन्त्री कार्कीले लेखेकी छिन्, ‘मैले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन दिएकी छु ।
लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिन्छ । त्यसैले म सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न हार्दिक अपिल गर्दछु ।’नेपाल जेन–जी फ्रन्टले एमाले नेताका अभिव्यक्ति र कार्यकर्ताका गतिविधिले देशमा थप संकट निम्तिने चेतावनी दिएको छ । बुधबार सिमरामा जेन–जी युवामाथि एमाले कार्यकर्ताले आक्रमण गरेपछि फ्रन्टकी संयोजक रक्षा बमले विज्ञप्तिमार्फत उनले संयमता अपनाउन जेन–जी युवाहरूलाई पनि अपिल गरेकी छिन् ।‘देशको भलो नचाहने तत्वहरू हामीसँग मुठभेड गर्न, हामीलाई अत्याउन, हौस्याउन र हामीलाई आवेगमा ल्याउन चाहन्छन् । तर, हामीले त्यसो गर्नुहुँदैन । हामी जो र जस्तो प्रवृत्तिसँग लड्दै छौँ, हामी त्यस्तै बन्नुहुँदैन ।
अहिलेको समयमा संयमता र धैर्य नै हाम्रो शक्ति हो,’ उनले भनेकी छिन्, ‘साथीहरू हामीले बुझ्नैपर्छ, विद्रोहपछि विवेक महत्वपूर्ण छ । यो रणनीतिक समय हो । हामी उनीहरूको रणनीतिको सिकार बन्नुहुँदैन ।’सिमरा चोकमा शान्तिपूर्वक कार्यक्रम गर्न जुटेका जेन–जी युवामाथि नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरी अवरोध सिर्जना गरेको भन्दै फ्रन्टले घटनाप्रति आपत्ति जनाएको छ । ‘ओली नेतृत्वको सरकारले दमन र अत्यधिक बल प्रयोग गरी २२ जना युवा विद्यार्थीको हत्या गरेको सर्वविदितै छ । त्यस आपराधिक र नरसंहारकारी गतिविधिको दुई महिना बित्दै गर्दा जेन–जीको शान्तिपूर्ण कार्यक्रममा पुन: नेकपा एमालेसम्बद्ध व्यक्तिहरूले नै आक्रमण गरी शान्ति सुव्यवस्था बिगार्ने किसिमका गतिविधि हुनु खेदजनक छ ।’
फ्रन्टले चुनावमा भेट गर्न पुराना दलका नेताहरूलाई आग्रह गरेको छ । ‘जेन–जीहरू पनि तपाईंहरूकै भाइबहिनी/छोराछोरी हुन् । हामी सुशासन चाहन्छौँ । पारदर्शिता र जवाफदेहिता खोजिरहेका छौँ । भ्रष्टाचाररहित राज्य संरचना बनेको हेर्न चाहन्छौँ । यो संक्रमणकालबाट निस्कनका लागि चुनाव चाहन्छौँ । आउनुहोस, शान्तिपूर्वक अगाडि बढौँ र चुनावमा भेटौँ,’ विज्ञप्तिमा छ । उनले आखिर एमाले कहिले सुध्रन्छ भनेर प्रश्न गरेकी छिन् । ‘एमालेका मुद्दाहरूसँग हाम्रो असहमति रहे पनि उनीहरूको लोकतान्त्रिक र संवैधानिक अधिकारको हामी वकालत गर्छौँ । तर, एमालेका शीर्षस्थ नेताहरूले जसरी पछिल्ला दिनहरूमा जेन–जी आन्दोलनलाई नै अवमूल्यन गर्दै नागरिक सरकारलाई गिज्याउने, चुनाव हुँदैन भन्ने, नागरिक सरकारका आयोगहरूलाई हेप्ने, चुनौती दिने र जेन–जी युवाहरूलाई धम्क्याउँदै, आजकै जस्तो हातपात गर्ने जुन कार्य गरेका छन्, यसले देशमा थप संकट निम्तिने वातावरण बनाउन सक्छ । र, यस्ता कार्य कसैको पनि हितमा हुँदैनन्,’ उनले भनेकी छिन् ।
बमले आफूहरूले एमालेले देशको भविष्यलाई प्रतिनिधित्व गरिरहेका युवाहरूको मनोभावना कहिले बुझ्छ भनेर पर्खिरहेको पनि बताएकी छिन् । ‘प्रत्येक दिन ध्वंसात्मक अभिव्यक्ति दिँदै आएको एमालेले आज जेन–जी युवाहरूको शान्तिपूर्ण आन्दोलन बिथोल्ने काम गर्यो र अहिले आफ्नो रंग बदल्दै अभिव्यक्ति स्वतन्त्रता र देशभित्र निर्वाध हिँड्डुल गर्न पाउने स्वतन्त्रताको कुरा गरिरहेको छ । एमालेले भदौ २३ अगाडिको समय सम्झियोस्,’ बमको विज्ञप्तिमा छ, ‘त्यसवेला हाम्रो स्वतन्त्रतामाथि गोली दागेका तत्कालीन प्रधानमन्त्री केपी ओली आज कुन स्वतन्त्रताको वकालत गर्न खोज्दै छन् ? आखिर एमाले कहिले सुध्रन्छ र यो देशको भविष्यलाई प्रतिनिधित्व गरिरहेका युवाहरूको मनोभावना बुझ्छ ? हामी पर्खिरहेका छौँ ।’
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले उठाएका मुद्दालाई निर्वाचनको खबरदारी गर्ने हेतुका रूपमा बुझ्नुपर्ने बताए । उनले सिमरा घटना गम्भीर भएको र यसलाई ‘टेस्ट केस’का रूपमा हेर्नुपर्ने बताए । ‘एमालेले कहिले पनि गैरजिम्मेवार अभिव्यक्ति दिँदैन । बाराको घटना सामान्य होइन, नेताहरू जानै पाएनन् । दलहरूलाई शान्तिपूर्ण कार्यक्रम गर्नबाट रोक्न सकिन्छ कि भन्ने टेस्ट हो । यदि यो सफल भयो भने चुनाव त धेरै टाढा हो, नियमित बैठक र गतिविधि गर्न नसक्ने अवस्था हुन्छ । यसमा सरकारले कसरी डिल गर्छ, निर्वाचनप्रतिको उसको निष्ठा देखिनेछ,’ उनले भने । सरकार गठन र प्रतिनिधिसभा विघटनको संवैधानिकतामा गम्भीर प्रश्न उठाउँदै एमालेले चुनावबाट दूरी बनाएको छ । ‘हाम्रा कुरालाई निर्वाचनको खबरदारी गर्ने हेतुका रूपमा बुझ्नुपर्छ । जेन–जीको माग पूरा गराउने सन्दर्भमा सरकारले अनावश्यक कुरामा हात नहालोस्, प्यान्डोराबक्स खुल्छ,’ ज्ञवालीले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।