शुक्रबार, ४ बैशाख २०८३
२७ मंसिर, काठमाडौं। लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई फराकिलो अन्तरले पराजित गर्दै एनपीएलको उपाधि जितेको छ। यससँगै लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बनेको छ भने सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै सीमित भएको छ। कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यानको उत्कृष्ट बलिङ प्रदर्शनमा सुदूरपश्चिम १९.१ ओभरमै ८५ रनमा अलआउट भयो। फाइनलमा पाएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले मात्र ९ ओभरमै भेट्टाउँदै उपाधि हात पारेको हो।
उपाधि यात्रामा लुम्बिनीले अन्तिम ६ खेल लगातार जित्दै सानदार पुनरागमन गरेको छ। पहिलो खेलमा चितवन राइनोजलाई हराएपछि लगातार तीन खेलमा पराजय भोग्दा लिग चरणबाटै बाहिरिने जोखिममा परेको लुम्बिनीले त्यसपछि लय समात्दै अन्ततः एनपीएलको उपाधि उचाल्यो। लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका ओपनर दिनेश अधिकारीले सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीलाई पहिलो ओभरमै ४ छक्का प्रहार गर्दै टोलीलाई आक्रामक सुरुआत दिलाए। दिनेशले विस्फोटक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ५ छक्कासहित ४२ रन बनाए।
पहिलो विकेटका लागि दिनेशले डार्शी सर्टसँग ४ ओभरमै ५८ रनको साझेदारी गरे। पाँचौं ओभरमा हेमन्त धामीले सर्ट र दिनेश दुवैलाई आउट गर्दै साझेदारी तोडे। सर्ट १४ बलमा १३ रन बनाएर बोल्ड भए भने दिनेश सोही ओभरको तेस्रो बलमा स्कट कुगेलेइनबाट क्याचआउट भए।यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोएल्स ८५ रनमै समेटिएको थियो। सुदूरपश्चिमको यो योगफल एनपीएलको संयुक्त रूपमा चौथो न्यून स्कोर हुनुका साथै एनपीएल फाइनलकै सबैभन्दा कम स्कोर हो।