शुक्रबार, ४ बैशाख २०८३
नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा आर्थिक प्रस्ताव मूल्यांकन समितिले सिफारिस गरेभन्दा झन्डै पाँच अर्ब कममा हत्याएको यती समूहले गोकर्णको दुई हजार ७९२ रोपनी पनि सत्ता–शक्तिको दुरुपयोग गरी कानुनसमेत परिवर्तन गरेर थप २५ वर्षका लागि कौडीको भाउमा लिजमा लिएको थियो । त्यो पनि पुरानो सम्झौता अवधि ६ वर्ष बाँकी छँदै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका वेला राजनीतिक सेटिङमा लिज अवधि थपेको हो । फरेस्ट रिसोर्ट चलाउन भन्दै यती होल्डिङ्सले तत्कालीन राजपरिवारसँग ३१ साउन ०५२ मै ३० वर्षका लागि गोकर्णको ३९ हजार ७० रोपनी एक आना तीन दाममध्ये दुई हजार ७९२ रोपनी तीन पैसा एक दाम लिजमा लिएको थियो ।
उक्त सम्झौता अवधि सकिने म्याद ३१ भदौ ०८२ सम्म थियो । तर, सम्झौता अवधि सकिनुभन्दा ६ वर्षअघि नै २९ पुस ०७६ मा यतीले राजनीतिक सेटिङमा निकै सस्तो भाउमा थप २५ वर्ष लिज थपेको छ । नयाँ सम्झौताअनुसारको समयावधि भने पुरानो लिज अवधि सकिएपछि नै गणना हुने उल्लेख छ । यो सम्झौता हुँदा यती समूहसँग निकट रहेका एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री थिए भने ट्रस्टको अध्यक्ष एमाले वरिष्ठ उपाध्यक्षसमेत रहेका तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल थिए । २३ मंसिर ०७६ मै ओली मन्त्रिपरिषद्ले लिज सम्झौताका लागि स्वीकृति दिएको थियो । राजपरिवारको नाममा रहेका जग्गा राजतन्त्रको अन्त्यसँगै सरकारमातहत ल्याई नेपाल ट्रस्टको नाममा परिचालन हुँदै आएको छ ।
यतीलाई थप २५ वर्ष लिज अवधि लम्ब्याउँदा अन्य कुनै कम्पनीसँग प्रतिस्पर्धा पनि गरिएको थिएन । यस विषयमा महालेखा परीक्षकको कार्यालयले लिज सम्झौता भएको अर्को वर्ष वार्षिक प्रतिवेदनमै प्रश्न उठाएको थियो । प्रतिस्पर्धात्मक प्रक्रियाबाट लिज सम्झौता गर्न सरकारलाई सिफारिससमेत गरेको थियो भने प्रतिस्पर्धाबाट लिजमा दिनुअघि विशेषज्ञ समूहबाट अध्ययन र विश्लेषण गर्नुपर्ने भनेको थियो । तर, अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन । यती होल्डिङ्सले उक्त जग्गामा निर्वाध रूपमा रिसोर्ट चलाउँदै आएको छ । नेपाल ट्रस्टका सचिव रामआधार साहले गोकर्णस्थित ट्रस्टको जग्गामा अहिले पनि गोकर्ण फरेस्ट रिसोर्ट नै सञ्चालन भइरहेको बताए ।
‘यसअघि जुन कम्पनीसँग लिज सम्झौता भएको थियो, सोही कम्पनीले रिसोर्ट सञ्चालन गर्दै आएको छ । लिज सम्झौता पुनरावलोकन वा रद्द भएको मलाई जानकारी छैन,’ उनले भने । नेपाल ट्रस्ट र यती होल्डिङ्सको सम्झौताअनुसार थप २५ वर्षको भाडा एकमुस्ट एक करोड आठ लाख २३ हजार २०५ अमेरिकी डलर तोकिएको छ । डलरको तत्कालीन दररेटअनुसार दुई हजार ७९२ रोपनी तीन पैसा एक दामको प्रतिरोपनी भाडा १७ हजार ९८६ रुपैयाँ मात्रै हुन आउँछ । यो दररेट यसकारण कौडीबराबर हो, किनभने गोकर्ण रिसोर्टसँग साँध जोडिएको वनको जग्गा लिजमा लिएको गोकर्णेश्वर नगरपालिकाले प्रतिरोपनी वार्षिक पाँच लाखका दरले भाडा बुझाइरहेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।