शुक्रबार, ४ बैशाख २०८३
नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आर्थिक वर्षको तुलनामा प्राधिकरणको नाफा ३७.३२ प्रतिशतले घटेको हो । प्राधिकरणको ४० औँ वार्षिकोत्सव समारोहमा सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार प्राधिकरणले गत आवमा कर चुक्तापूर्व नौ अर्ब छ करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ । यस्तो नाफा आव २०८०/८१ मा १४ अर्ब ४६ करोड रुपियाँ थियो ।
प्राधिकरणको सञ्चालन खर्चमा आएको वृद्धि, विदेशी मुद्रा विनिमय प्रभाव र जोखिम कोषमा रकम जम्मा गर्दा नाफामा कमी आएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिनुभयो । वित्तीय विवरण अनुसार खुद सञ्चालन खर्च एक वर्षको अवधिमा दुई अर्ब १० करोड रुपियाँले बढेको छ ।
त्यस्तै विनिमय दर परिवर्तनका कारण मात्रै दुई अर्ब २५ करोड रुपियाँ थप व्ययभार थपिएको प्रतिवेदनमा उल्लेख छ । शाक्यका अनुसार गत आवमा पाँच अर्ब रुपियाँ जोखिम कोष (प्रोभिजनिङ) का लागि छुट्याइएकाले पनि नाफा घट्न पुगेको हो । कुल व्यवसाय ८.४ प्रतिशतले बढेर एक खर्ब २५ अर्ब २७ करोड पुगे पनि समग्रमा अघिल्लो आवभन्दा गत आवमा प्राधिकरणको नाफा पाँच अर्ब ३९ करोड रुपियाँले कमी आएको छ ।
विद्युत् बिक्रीको मूल्यमा आएको कमीका कारण पनि प्राधिकरणको नाफा खस्कन भूमिका खेलेको देखिन्छ । अघिल्लो आवमा औसत नौ रुपियाँ ४८ पैसा प्रतियुनिट मूल्य आएकामा गत आवमा नौ रुपियाँ १३ पैसा पाएको देखिन्छ । नेपालभित्र र मध्यकालीन सम्झौता अनुसार भारत निर्यात हुने बिजुलीको मूल्य स्थिर रहे पनि इन्डियन इनर्जी एक्सचेन्जमा बोलकबोल मूल्य घटेको असर यो मूल्यमा परेको हो । भारततर्फ गत आवमा कुल दुई हजार ३८० गिगावाट/घण्टा विद्युत् बिक्री भएको देखिन्छ । यो आघिल्लो आवको तुलनामा २२.३३ प्रतिशतको वृद्धि हो ।
शाक्यले दिएको जानकारी अनुसार ९८ प्रतिशत भूभागमा राष्ट्रिय ग्रिड पुगिसकेको छ भने प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत ४२० युनिटबाट बढेर ४६५ पुगेको छ । विद्युत् चुहावट पनि ०.४७ प्रतिशत विन्दुले घटेर १२.२६ कायम भएको छ ।
प्राधिकरणको एकबर्से उपलब्धि सार्वजनिक गर्दै शाक्यले गत अवमा कुल ४३४ मेगावाट विद्युत् उत्पादन थप भएको छ भने २५३ सर्किट किलोमिटर प्रसारण लाइन थप भएर कुल छ हजार ७६० सर्किट किलोमिटर पुगेको छ । प्रसारण सबस्टेसनको क्षमता एक हजार ७३ एमभिए थपिँदा कुल १४ हजार १२३ एमभिए पुगेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।