शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

नाडा अटो शो २०२५ : उड्ने सवारीसाधनदेखि रोबोटसम्म प्रस्तुत हुने

नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२५’ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले मंगलबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो। “गो फर मोर” नाराका साथ आयोजना हुने शोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने कार्यक्रम तय गरिएको छ। प्रदर्शनीमा नवीन प्रविधि, दिगो सवारी विकल्प, स्मार्ट मोबिलिटी र सम्पूर्ण अटोमोटिभ इकोसिस्टम समेट्ने तयारी गरिएको आयोजकले जनाएको छ।

प्रदर्शनीमा चारपांग्रे, दुईपांग्रे र हल्का व्यावसायिक सवारीसाधनसहित ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण तथा वित्तीय सेवासम्बन्धी १२५ भन्दा बढी कम्पनी सहभागी हुनेछन्। यो प्रदर्शनी करिब ३ लाख वर्गफुट क्षेत्रफलमा फैलिएको छ, जसमा १ लाख ६२ हजार ५ सय वर्गफुट विशेष प्रदर्शनी क्षेत्र हुनेछ। आयोजकले एक लाखभन्दा बढी आगन्तुकको उपस्थिति रहने अपेक्षा गरेको छ। शोमा पहिलोपटक नेपालमा उड्ने सवारीसाधन सार्वजनिक गरिनेछ। यस अन्तर्गत Deepal eVTOL UAV नामक शहरी हवाई सवारीसाधन तथा UNITREE कम्पनीका अत्याधुनिक रोबोटहरु प्रदर्शित गरिने जनाइएको छ।

प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्रान्ड, ४ वटा दुईपांग्रे ब्रान्ड तथा ३५ अटो पार्ट्स र सहायक सेवा प्रदायक कम्पनीहरूको सहभागिता रहनेछ। नाडा अटो शोको अर्को आकर्षण ऐतिहासिक सवारीसाधनहरूको ‘विन्टेज मोटर शो’ हुनेछ, जसमा मोरिस माइनर, फियाट, मर्सिडिज, टोयोटा आरटी४०, बीटल, मिनी कुपर, भिएडब्लु बस, टोयोटा कोरोल्ला, माज्दा फेमिलिया र टोयोटा एमआर२ जस्ता सवारीसाधनहरू प्रदर्शित गरिनेछन्।

यसपटकको शोमा ‘Made in Nepal Pavilion’ अन्तर्गत स्वदेशमै उत्पादन भएका सवारीसाधन र पार्ट्स हेर्न पाइनेछ भने ‘International Business Pavilion’ ले अन्तर्राष्ट्रिय सहकार्य र लगानी प्रवर्द्धनमा योगदान पुर्‍याउनेछ।सुरक्षालाई प्राथमिकतामा राख्दै क्षेत्रगत जोन विभाजन, ट्राफिक सूचना डेस्क, सञ्चारकर्मीका लागि मिडिया डेस्क, आपतकालीन स्वास्थ्य सेवा, निगरानी प्रणाली र दमकल सेवासमेतको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

आगन्तुकका लागि दैनिक ‘भाग्यशाली विजेता कार्यक्रम’ समेत राखिएको छ, जसअन्तर्गत १२ जना विजेताले एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा प्राप्त गर्नेछन्।नाडाका अध्यक्ष करण चौधरीले अटो शो २०२५ लाई नेपाली अटोमोबाइल क्षेत्रको सम्पूर्ण विकासमा टेवा पुर्‍याउने अवसरका रूपमा व्याख्या गर्दै आम नागरिकलाई सहभागिताका लागि आग्रह गरेका छन्।