शुक्रबार, ४ बैशाख २०८३
नेपालमा वैदेशिक रोजगारीका अवसरहरू विस्तारसँगै रेमिट्यान्स आप्रवाह उच्चदरमा बढिरहेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामै (साउन–असोज) पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जसले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशत वृद्धि देखाएको छ। केवल असोज महिनामा मात्र दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांकले जनाउँछ कि रेमिट्यान्स नेपालको अर्थतन्त्रलाई अझै कति निर्धारण गरिरहेको छ।
समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २९.२ प्रतिशतले उकालो लागी तीन अर्ब ९४ करोड डलरसम्म पुगेको छ। वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति प्राप्त गर्ने नेपालीको संख्या एक लाख २३ हजार ४५९ पुगेको छ भने पुनः श्रम स्वीकृति लिने ७७ हजार २५७ रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। यो संख्या अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।
यस अवधिमा कुल वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोडमा पुगेको छ। तर आयात १९.८ प्रतिशत बढेर चार खर्ब ६८ अर्ब ८ करोड पुग्दा व्यापार घाटा तीन खर्ब ९५ अर्ब ३० करोडमा नाघेको छ। निर्यात बढ्दो भए पनि आयातको आकार ठूलो रहेकाले व्यापार घाटा अझै चुनौतीको रूपमा उभिएको देखिन्छ। यद्यपि रेमिट्यान्स र निर्यात वृद्धि सन्तुलनकारी बनेपछि भुक्तानी सन्तुलन भने उल्लेखनीय बचतमा रहेको छ।
समीक्षा अवधिमा चालू खाता दुई खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर अवस्था दुई खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको राष्ट्र बैंकको तथ्यांकले संकेत गर्छ कि बाह्य क्षेत्रीय वित्तीय जोखिमहरू हाललाई स्थिर देखिएका छन्। गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले बढेर असोज मसान्तमा २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ। जसमा राष्ट्र बैंकमा रहेको वैदेशिक सञ्चिति मात्र २६ खर्ब ६७ अर्ब ७० करोड छ। विदेशी विनिमय सञ्चितिले १९.९ महिनासम्मको वस्तु तथा १६.४ महिनासम्मको वस्तु र सेवा आयात धान्न पर्याप्त रहेको उल्लेख छ।