शुक्रबार, ४ बैशाख २०८३
म्याग्दी, १ मङ्सिर – रोजगारी र व्यवसायको खोजीमा तीन दशकअगाडि गाउँ छाडेर बजारतर्फ लागेको जीवन–यात्रा अब उल्टो दिशातर्फ मोडेका छन्, पर्वतको जलजला गाउँपालिका–४ मल्लाज भवानीपानीका ५५ वर्षीय कमलप्रसाद पौडेलले। बेनी बजारदेखि नेपाल–भारतका विभिन्न सहरमा व्यवसाय र रोजगारीका अवसर खोजेर वर्षौं बिताएपछि उहाँ अहिले आफ्नै गाउँ फर्किएर बाँझो पाखोबारीलाई हराभरा बनाउन सफल हुनुभएको छ।
पौडेलले गाउँ फिर्ता जीवनलाई तरकारीखेतीसँग जोड्दै चार रोपनी पुख्यौली पाखोबारीलाई व्यवस्थित खेतीयोग्य बनाएका छन्। गत वर्षसम्म झाडीले ढाकिएको बारीमा अहिले बन्दा, काउली र ब्रोकाउली उत्पादन हुँदै बजार आपूर्तिसम्म भइरहेको छ। सडक पहुँच, ढुवानी सहजता, सिँचाइ सुविधा र बजारको निरन्तरता रहेकाले कृषि व्यवसायलाई दिगो उद्यमका रूपमा अघि बढाउने आत्मविश्वास उहाँमा झनै मजबुत बनेको छ।
“विसं २०५० मा गाउँ छाडेर बेनी बजार आएँ, त्यहाँ २० वर्ष व्यवसाय गरेँ, पछि १२ वर्षभरि नेपाल–भारतकै सहरमा नोकरी गरें,” पौडेलले सम्झनासहित भने, “सोचेअनुसार सफलता नपाएपछि गाउँ फर्किएर बाँझो बारी उपयोग गर्न थालें, अहिले राम्रो सम्भावना देखिरहेको छु।”बजार आपूर्तिका लागि बारी नजिकै रहेको सडकले ढुवानी सहज बनाएको छ। म्याग्दीको सदरमुकाम बेनीसम्म सजिलै तरकारी पठाउन सकिने तथा मुस्ताङसम्म बिक्री हुने भएकाले बजारको समस्या नदेखिएको उहाँको भनाइ छ।
पुख्यौली जग्गा त्यागेर शहरिएका धेरै जस्तै पौडेल पनि ५० को दशकमा गाउँबाट बाहिरिनुभएको थियो। उनले शहरमा बसेर छोराछोरीलाई शिक्षादेखि रोजगारीसम्मको व्यवस्था गरिसकेका छन- दुई छोरा सरकारी सेवामा छन् भने एक छोरी विदेशमा छन्। अब भने उहाँले ‘उजाडिएको जमिनलाई पुनर्जागरण’ आफ्नै गाउँमा देखाउन थाल्नुभएको छ।
गाउँ फर्किए पछि भत्किएको पुरानो घरलाई पुनर्निर्माण गर्दै पौडेलले खेतीयोग्य साना–साना टुक्रा बारीलाई पर्खालले घेरेर व्यवस्थापन गर्नुभएको छ। मेहनत, लगन र लक्ष्य भए गाउँमै रोजगारी र सम्भावना खोज्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण रहेको स्थानीय गोपाल आचार्यको भनाइ छ। मल्लाज क्षेत्र सामाजिक, व्यापारिक तथा आर्थिक गतिविधिमा म्याग्दी बजारसँग घनिष्ठ रूपमा जोडिएको मानिन्छ। विसं २०४६ मा सुरु भएको बृहत मल्लाज सिँचाइ आयोजना विसं २०७४ मा सम्पन्न भएपछि कृषिमा नयाँ अध्याय सुरु भएको स्थानीयहरूको अनुभव छ।