शुक्रबार, ४ बैशाख २०८३
भैरहवा, भदौ १ गते । धार्मिक पर्यटनलक्षित सञ्चालनमा ल्याइएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पाँच महिनादेखि अन्तर्राष्ट्रिय उडानविहीन बनेको छ । अन्तर्राष्ट्रिय उडान नहुँदा सुनसान जस्तै बनेको टर्मिनल, खाली धावनमार्ग र सुस्त व्यापारिक गतिविधिले यहाँको पर्यटन उद्योग मात्र होइन, लगानीकर्ताको मनोबल पनि खस्किएको छ ।
सन् २०२५ अप्रिलदेखि कुनै पनि अन्तर्राष्ट्रिय उडान नभएको विमानस्थलमा गत वर्ष असोज–कात्तिकमा भने चहलपहल बेग्लै थियो । कुवेतको जजिरा एयरवेज, फ्लाई दुबई, थाई एयर एसिया, कतार एयरवेज र नेपाल एयरलाइन्सले केही महिना उडान सञ्चालन गर्दा होटेल–रेस्टुरेन्टदेखि ट्याक्सी व्यवसायसम्म फस्टाएका थिए । उडान स्थायी बन्न नसक्दा त्यो रौनक अब केवल सम्झनामा सीमित भएको उद्योगी व्यवसायी बताउँछन् ।
२०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको यो विमानस्थलमा अहिले पनि दर्जनौँ सरकारी कार्यालय, सुरक्षा निकाय र आवश्यक पूर्वाधार पूर्ण रूपमा सक्रिय छन् । भन्सार, अध्यागमन, स्वास्थ्य डेस्क, इन्धन डिपो, पार्किङ सुविधा सबै तयारी अवस्थामा छन् । १४१ मध्ये ८७ कर्मचारी स्थायी, २४ सेवाप्रदायक, ६० दैनिक ज्यालादारी, ७० सैनिक र १८५ प्रहरी तैनाथ छन् । सेवाप्रदायकको गतिविधि उडानविहीन विमानस्थलमा सीमित प्रशासनिक काममै खुम्चिएको छ ।
निर्माणमा सात अर्ब र मुआब्जामा २२ अर्ब रुपियाँ खर्चिएर सञ्चालनमा ल्याइएको यो विमानस्थलसँगै व्यापार बढ्ने आशा गरेका निजी क्षेत्रका व्यवसायीले पनि होटेल सञ्चालनका लागि अर्बौं रुपियाँ खर्चिएका छन् । अन्तर्राष्ट्रिय उडान नहुँदा जसरी विमानस्थल सुनसान बनेको छ, त्यसै गरी सुनसान छन् यहाँका होटेल ।
व्यवसाय नै नभएपछि निजी क्षेत्रले विमानस्थल सञ्चालनका लागि सङ्घर्ष समिति गठन गरेका छन् । नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न दबाब दिने उद्देश्य राखेको समितिले शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पान्डेकै उपस्थितिमा कार्यक्रम राखेर सक्दो छिटो उडानका लागि आग्रह गरेको छ ।
कार्यक्रममा मन्त्री पाण्डेले मन्त्रालयको इच्छाले मात्र यो सम्भव नहुने स्पष्ट पार्नुभयो । “यो विमानस्थल जसरी पनि सञ्चालन हुन्छ तर त्यसका लागि सबै पक्षको साझा पहल चाहिन्छ,” उहाँले भन्नुभयो । लुम्बिनी, पोखरा र सुदूरपश्चिममा नेपाल पर्यटन बोर्डको शाखा स्थापना गरेर स्थानीय पर्यटन प्रवर्धनमा सहयोग गरिने उहाँले जानकारी दिनुभयो । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले विमानस्थल सञ्चालन नहुँदा लुम्बिनी क्षेत्रका उद्योगी व्यवसायी गम्भीर सङ्कटमा परेको बताउनुभयो । “सुनको कचौरा भएर पनि चम्चामा भिख मागे जस्तो भएको छ,” उहाँले भन्नुभयो ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भिसा, श्रम स्वीकृति, म्यानपावर र स्वास्थ्य संस्थाको सुविधा नहुँदा नियमित अन्तर्राष्ट्रिय उडानमा अवरोध भएको बताउनुभयो । उहाँले विगतमा सफलतापूर्वक सेवा दिएका जजिरा र थाई एयरलाइन्स बन्द हुनु पनि दुर्भाग्यपूर्ण रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेश अग्रवालले विमानस्थल सञ्चालन नहुँदा पर्यटनसँगै घरजग्गा व्यवसायसमेत धराशायी भएको दाबी गर्नुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।