शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीका क्वार्टर क्षतविक्षत

आर्मीको सुरक्षामा रहेको मन्त्री क्वार्टरको क्षतिबारे अहिलेसम्म अध्ययन थालिएको छैन ।

जेनजी आन्दोलनका क्रममा आगलागी भएको ललितपुरको भैँसेपाटीस्थित मन्त्री क्वार्टरको बुधबार गृहमन्त्री ओमप्रकाश अर्याल र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका ऊर्जामन्त्री कुलमान घिसिङले निरीक्षण गरेका छन् । मन्त्री क्वार्टरका २८ मध्ये २७ वटा भवन जलेर नष्ट भएको छ । सहरी विकास तथा भवन निर्माण विभागका अनुसार ९६ रोपनी १० आना क्षेत्रफलमा राज्यमन्त्रीसहित २४ मन्त्रीलाई क्वार्टर बनाइएको छ । 

राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षका लागि एक–एक भवन र प्रतिनिधिसभाको उपसभामुखलाई एक भवन आवासीय प्रयोजनका लागि तयार गरिएको छ । थप एउटा भवन पनि प्रयोगविहीन अवस्थामा थियो । तर, २४ भदौ दिउँसो प्रदर्शनकारीले आगजनी गर्दा २७ भवन पूर्ण रूपले जलेर नष्ट भएका छन् । मुख्य प्रवेशद्वारको बाँयापट्टि लहरमा दोस्रो स्थानमा रहेको रक्षामन्त्रीनिवास भने सग्लो छ । सो भवनको केही झ्यालको सिसा फुट्नुबाहेक अरू क्षति भएको छैन ।

तीन तलाका भवनहरू आगलागीले जलेर कालो भएका छन् । भुइँतलामा लबी, मिटिङ हल, निजी कोठा, गार्ड कोठा, कर्मचारीका लागि सुत्ने कोठा र भान्साका सामान राख्ने कोठा छ । पहिलो तलामा मन्त्री सुत्ने मुख्य कोठा, परिवारका सदस्य सुत्ने कोठा, बैठक कक्ष, भान्सा र डाइनिङ हल छ । दोस्रो तलामा दुईवटा पाहुना कोठासँगै पूजाकोठा र लन्ड्री तथा खुला छत बनाइएको छ । प्रत्येक आवासमा दुईवटा प्रवेशद्वार छन् । एउटा सार्वजनिक र अर्को निजी प्रयोजनका लागि प्रयोगमा आउने ढोका बनाइएको छ । नेपाली परम्परागत शैलीमा बनाइएको भवनको साजसज्जाका लागि मात्रै २४ करोड रुपैयाँ खर्च भएको थियो । तर, आगलागीपछि सबै भवन कुरूप भएका छन् ।

मन्त्री क्वार्टरको दक्षिण–पश्चिमतर्फ सामान्य जाली गेट बनाइएको थियो । सोही स्थानबाट आन्दोलनमा सहभागी समूह भित्र छिरेर आगजनी गरेको स्थानीयको भनाइ छ । सो स्थानमा जग्गा अधिग्रहण विवाद भएकाले पक्की संरचना बनाउन ढिलाइ भएको सहरी विकास मन्त्रालयका अधिकारीले मन्त्रीद्वय अर्याल र घिसिङलाई ‘ब्रिफिङ’ गरेका छन् । अहिले पनि सो स्थानमा फलामको डन्डीमा टिनको पातालाई बाँधेर बेरा मात्रै लगाएर असुरक्षित अवस्थामा छाडिएको छ । आर्मीको सुरक्षामा रहेको मन्त्री क्वार्टरको क्षतिबारे अहिलेसम्म अध्ययन थालिएको छैन । मंगलबार सहकारी विकास तथा भवन निर्माण विभागका कर्मचारी भित्र पसेर निरीक्षण गर्न खोज्दा सेनाले नदिएपछि फर्किएका थिए । 

बुधबार मन्त्रीद्वय अर्याल र घिसिङले निरीक्षण गर्दा कुनै पनि भवनभित्र पसेनन्, बाहिरबाट मात्रै वस्तुस्थितिको जानकारी लिए । सेनाले आगलागी भएको भवनभित्रको स्थिति के कस्तो छ भन्ने यकिन नभएकाले भित्र छिर्नु जोखिमयुक्त हुने सुझावसमेत दिएको थियो । निरीक्षणमा पुगेका सहरी विकासमन्त्रीसमेत रहेका घिसिङले क्वार्टर पुनर्निर्माणको विषय सरकारको प्राथमिकतामा रहेको बताए । ‘पुनर्निर्माणको विषयमा के कसो गर्न सकिन्छ, त्यो सबै प्राथमिकतामा राखेर अगाडि बढ्छौँ,’ उनले भने, ‘तत्काल नै गर्न सकिने अवस्था रहेछ भने पनि काम थाल्छौँ ।’आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।