शुक्रबार, ४ बैशाख २०८३
काठमाडौं। उद्योगपति तथा नेपाली कांग्रेसका नेता बिनोद चौधरीले “बदल्यौँ काङ्ग्रेस, बदल्छौँ देश” भन्ने नारासहित आफ्नो चुनावी अभियान सुरु गरेका छन्। पार्टीभित्र सुधार र देशको आर्थिक रूपान्तरणलाई मुख्य एजेन्डा बनाउँदै चौधरीले जनतासँग प्रत्यक्ष संवादमा आधारित अभियान अघि बढाएका हुन्। उनलाई जिताउन नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा पार्टीका क्षेत्रीय सभापति मुकुल आचार्यको संयोजकत्वमा ५५५ सदस्यीय निर्वाचन प्रचार–प्रसार समिति गठन गरिएको छ।
पार्टीका केन्द्रीय तहदेखि वडासम्मका सबै नेता तथा कार्यकर्ताहरू एकताबद्ध भई उत्साहपूर्ण रूपमा निर्वाचनमा होमिएका छन् । चौधरीले आफु आज चुनावी मैदानमा रहँदा मात्र नभई हिजो संसदमा रहँदा पनि किसानका समस्याहरूलाई गम्भीरतापूर्वक उठाउँदै आएकोले किसानका समस्या नजिकबाट बुझेको र तिनको समाधानका उपायहरू निरन्तर रूपमा सुझाउँदै आएको बताएका छन्।
अभियानका क्रममा चौधरीले नेपाली कांग्रेसलाई समयानुकूल रूपान्तरण नगरेसम्म मुलुकको समग्र विकास सम्भव नहुने धारणा राख्दै पार्टीभित्र लोकतान्त्रिक अभ्यास, पारदर्शिता र कार्यकर्ताको भूमिकालाई सशक्त बनाउने आवश्यकता रहेको बताए । कांग्रेस बलियो भए मात्र देश बलियो हुन्छ भन्दै उनले पार्टी सुधारबाटै राष्ट्रिय समृद्धिको बाटो खुल्ने बताए ।
देश बदल्ने साझा संकल्पसहित, सभापति गगन थापाको नेतृत्वमा सरकार बनाउने महाअभियानमा नवलपरासी अग्रपंक्तिमा रहेर परिणाम दिने बिस्वास उनको छ । चौधरीले आफ्नो अभियानमा आर्थिक विकास, रोजगारी सिर्जना, औद्योगिकीकरण र निजी क्षेत्रको भूमिकालाई प्रमुख प्राथमिकतामा राखेका छन्। उद्योग, पर्यटन, कृषि र प्रविधि क्षेत्रमा लगानी वृद्धि गरी युवालाई स्वदेशमै अवसर दिनुपर्ने उनको जोड रहेको छ । राजनीति भाषणमा सीमित हुन नहुने भन्दै उनले राजनीति नतिजामुखी हुनुपर्ने बताए ।