शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

एक महिनामै तीन ठुला दुर्घटना ४६ को मृत्यु, ६८ घाइते

एक महिनामै तीनवटा बस दुर्घटनामा ४६ जनाको मृत्यु भएको छ भने ६८ घाइते भएका छन् । आइतबार राति मात्र पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका– ५, भैँसीगाैँडामा यात्रुबस त्रिशूली किनारमा खस्दा तीन विदेशीसहित १९ जनाको ज्यान गएको छ । २५ घाइते भएका छन् । यसअघि २७ माघमा रामेछापमा यात्रुवाहक बस दुर्घटनामा १४ जनाको मृत्यु र आठ घाइते भएकामा त्यसअघि २२ माघमा बैतडीमा जन्ती बोकेको गाडी दुर्घटनामा १३ को मृत्यु र ३५ घाइते भएका थिए । रामेछाप दुर्घटनामा परेका एक यात्रु अझै बेपत्ता छन् । 

यही अवधिमा अन्य दुर्घटना पनि भएका छन् । सोमबार मात्रै उदयपुरको कटारीबाट गाईघाट आउँदै गरेको गाडी मदन भण्डारी सडकमार्गस्थित अधोरी गोलाईमा दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् । त्यस्तै, १६ माघमा दाङबाट काठमाडौं आउँदै गरेको बस मुग्लिन–नारायणगढ खण्डमा दुर्घटना हुँदा ३८ यात्रु घाइते भएका थिए । दुर्घटनाको निरन्तरतामा आइतबार राति ठुलो मानवीय क्षतिसहित अर्को दुर्घटना थपियो । धादिङ प्रहरीका डिएसपी प्रकाश दाहालका अनुसार पोखराबाट काठमाडौं आउँदै गरेको ग.२ख १४२१ नम्बरको रात्रिबस त्रिशूली किनारमा खस्दा १७ जनाको घटनास्थलमै र थप दुईजनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो । थप २५ घाइतेको उपचार भइरहेको छ । बसमा ४४ जना थिए । 

रातको समय भए पनि तत्काल उद्धारमा लाग्दा धेरै घाइतेलाई उद्धार गर्न सफल भएको डिएसपी दाहालले बताए । ‘राति सवा एक बजे दुर्घटनाको खबर पाएपछि उद्धारमा खटियौँ । सडकबाट खसेको बस नदीकिनारमा पुगेको थियो । अप्ठ्यारो ठाउँमा दुर्घटना भएकाले उद्धारमा निकै समस्या भयो,’ उनले भने, ‘घाइतेलाई घटनास्थलबाट सिधै माथि ल्याउन सम्भव थिएन । तीनवटा बोटको सहायताले उद्धार गरियो ।’ घटनास्थलको अवस्था हेर्दा ओभरस्पिडका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान लगाइए पनि थप अनुसन्धान भइरहेको डिएसपी दाहालले बताए । 

सोमबार जिल्लाका सबै सुरक्षा निकायका प्रमुखसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, निर्वाचन प्रहरी र स्थानीयहरू उद्धारमा खटिएका थिए । देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग ६८ भन्दा धेरै जिल्लालाई संघीय राजधानीसँग जोड्ने मुख्य मार्ग हो । यो खण्डमा हरेक वर्ष ठुला दुर्घटना भइरहेको छ । डिएसपी दाहालका अनुसार दुर्घटनामा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका– ४ का ३० वर्षीय इन्जिनियर ठकुरी, पोखरा महानगरपालिकाका– ३ का ४० वर्षीय विवेक बाँस्तोला, स्याङ्जाको वालिङ नगरपालिका– १४ का ६३ वर्षीय चन्द्रबहादुर कुँवर, स्याङ्जाकै पुतलीबजार नगरपालिका– ६ का ४५ वर्षीय धनश्याम सुवेदी, तनहुँको व्यास गाउँपालिका– ४ का ४० वर्षीय ओमकुमार मल्ल, काठमाडौं महानगरपालिका– ६ बौद्ध टुसालका ४२ वर्षीय लोप्साङ गोले, काठमाडौं– ३२ बुद्धनगरकी ३३ वर्षीया अनिशा महर्जन र पाल्पा तानसेन नगरपालिका– २ का ५५ वर्षीय नवीन्द्र श्रेष्ठको मृत्यु भएको छ । 

त्यस्तै, तनहुँको शुक्लागण्डकी गाउँपालिका– ७ की ५५ वर्षीया विष्णुमाया ढकाल, शुक्लागण्डकी– ७ का ६३ वर्षीय रुद्रप्रसाद ढकाल, वडा नं. २ की २० वर्षीया अर्चना पौडेल र तनहुँकै भीमाद नगरपालिका– ६ का ४५ वर्षीय हरिप्रसाद सिग्देलको पनि मृत्यु भएको छ । अन्य मृतकमा कास्कीको माछापुच्छ्रे गाउँपालिका– ३ का २१ वर्षीय रोहित नेपाली, पोखरा महानगरपालिका– १४ की २१ वर्षीया अञ्जली क्षेत्री, सोही पालिका वडा नं. १९ का २६ वर्षीय सुजित नेपाली र मोरङ उर्लाबारी– १ की २७ वर्षीया हिरा चौधरी छन् । त्यस्तै, ज्यान गुमाएका तीन विदेशी नागरिकहरू बेलायती २४ वर्षीय स्टेवार्ट डोमिनिक इथान, चिनियाँ ४० वर्षीय चाङ चुङचङ र भारतीय ३२ वर्षीय मनीष शुक्ला छन् । 

त्यस्तै, दुर्घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयले सहसचिव ऋषिराम तिवारीको अध्यक्षतामा छानबिन समिति गठन गरेको छ । समितिको सदस्यमा नेपाल प्रहरीका एसएसपी भुवनेश्वर तिवारी, सशस्त्र प्रहरी बलका एसएसपी भरत खनियाँ, सडक विभागका सिडिई राकेश महर्जन र मन्त्रालयका उपसचिव वर्तमान पौडेल सदस्यसचिव छन् । समितिलाई एक साताको समय दिइएको मन्त्रालयका सहायक प्रवक्ता रमा आचार्यले जानकारी दिइन् । दुर्घटनाको कारण पत्तालगाई दीर्घकालीन समाधानको उपाय सुझाउन समितिलाई जिम्मेवारी दिइएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।