शुक्रबार, ४ बैशाख २०८३
काठमाडौँ, भदौ १७ गते । राजस्व विभागको तथ्याङ्कमा यस वर्ष भेप (विद्युतीय चुरोट) आयात भएको छैन । आयात इजाजत नभएको त्यही भेप आजभोलि देशका विभिन्न स्थानबाट ठुलो परिणाममा बरामद भइरहेको छ । आइतबार मात्र प्रहरीले काठमाडौँको चमतीबाट तीन हजार ८०५ थान भेपसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका निमा छिरिङ शेर्पा, कृष्णबहादुर गुरुङ, रामबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । राजस्व छली गरी भण्डारण गरिएका ती भेप बरामद भएका हुन् । स्कुल कलेजका विद्यार्थीले नै भेपको लतमा फस्दै गएको देखिएपछि जनस्वास्थ्यमा नै गम्भीर असर पर्ने कारण देखाउँदै स्वास्थ्य मन्त्रालयले भेपको कारोबार र ओसारपसारमै प्रतिबन्ध लगाउन माग गर्दै आएको छ ।
चिनियाँ कम्पनीका भेपहरू आयातमा भन्सार र अन्तःशुल्क महँगो भएका कारण पनि गिरोहले तस्करीमार्फत यसको ओसारपसार र कारोबार गरिरहेको पाइएको छ । भारतलगायतका ४० मुलुकमा पूर्ण प्रतिबन्धित भेप नेपाल हुँदै तिनै मुलुकहरूमा तस्करी गर्न ठुलो गिरोह सक्रिय रहेको स्रोत बताउँछ तर पक्राउ पर्नेमा भने सामान्य भरिया मात्र हुने गरेका छन् । पहिले अन्तर्राष्ट्रिय विमानस्थलबाटै आयात र तस्करी दुवै हुने भेप आयातमा इजाजत नपाउँदा विभिन्न सीमा नाकाबाट तस्करी हुने गरेको छ । गत साता प्रहरीले दैलेखको आठबिसकोट–६, खिड्कीजिउलामा जडीबुटी बोकेको ट्रकभित्र लुकाइछिपाई भारततर्फ तस्करी गर्न लागेको ३९ हजार नौ सय थान भेप बरामद ग¥यो ।
नेपाल–चीन नाका हुम्लाको हिल्साबाट राजस्व छली गरी अवैध रूपमा भित्र्याइएको उक्त भेप कैलाश ईश्वर जडीबुटी खरिदबिक्री केन्द्रको ट्रकबाट बरामद भयो । केन्द्रका सञ्चालक कुन्साङदोर्जी लामाले उक्त ट्रकमा जम्मा पाँच क्विन्टल सेतक चिनी (जडीबुटी) रहेको भनी वन कार्यालयबाट जाँचपास गराई ल्याएको अवस्थामा ट्रक खानतलासी गर्दा १२ करोड रुपियाँभन्दा बढीको उक्त भेप बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख गणेशबहादुर बरालका अनुसार गोप्य सूचनाका आधारमा खानतलासी गर्दा ठुलो परिमाणमा भेप बरामद भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले अवैध भेप बोकेको ट्रकसहित नियन्त्रणमा लिएका तीन जनालाई राजस्व अनुसन्धान विभाग कोहलपुरमा बुझायो । पक्राउ पर्नेहरू भरिया भए पनि मुख्य व्यक्ति पक्राउ परेका छैनन् ।
त्यसको अघिल्लो दिन भदौ ७ गते सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बिओपी) शक्तिपुर बर्दियाले झन्डै ४८ लाख बराबरको भेप बरामद ग¥यो । यो भेप पनि मध्यरातमा बर्दियाको मधुवन नगरपालिका–५ स्थित फुलाराम चोक हुँदै सामान्य भरियाले साइकलमा बोकेर भारततर्फ लैजाने क्रममा बरामद भयो । गस्तीमा रहेको प्रहरी देख्नासाथ भेप नै छाडेर भागेपछि प्रहरीले तिनै भरियासमेत पक्राउ गर्न सकेन ।
गत पुसमा पनि राजस्व अनुसन्धान विभागको टोलीले ललितपुरको इमाडोलबाट लुकाइछिपाइ राखेको अवस्थामा ८६ हजार थान भेप बरामद ग¥यो । त्यहीबेला राजस्व अनुसन्धान कार्यालय बुटवलले पनि दुई हजार छ सय थान भेप बरामद ग¥यो । चीनबाट अवैध रूपमा भन्सार छली नेपाल ल्याएर भण्डार गरिएका ती भेपहरू पनि भारततर्फ नै तस्करीको तयारीमा रहेको खुल्यो । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो तीन वर्षमा प्रहरीले देशका विभिन्न स्थानबाट झन्डै ७५ हजार थान भेप बरामद गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ।