शुक्रबार, ४ बैशाख २०८३
१५ सदस्यीय पदाधिकारीसहित केन्द्रीय कमिटीकै प्यानल बनाउने गरी अध्यक्षका उम्मेदवार अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह दुवैले आन्तरिक गृहकार्य सुरु गरेका छन् । अहिलेलाई प्यानल नभनिहाल्ने, तर उम्मेदवारी मनोनयनपछि सार्वजनिक गर्ने गरी दुवै पक्षले आ–आफ्नो टिम निर्माणको गृहकार्य सुरु गरेका हुन् । ओली समूहले पदाधिकारीबाहेक समेट्नुपर्ने केन्द्रीय सदस्यहरूको प्रारम्भिक सूची तयार गरिसकेको उनीनिकट एक नेताले बताए । ओली समूहमा सबैभन्दा पेचिलो पद महासचिव बनेको छ । ओलीले पुन: शंकर पोखरेललाई नै महासचिव दोहोर्याएर प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई उपाध्यक्षमा व्यवस्थापन गर्न खोजेका छन् ।
तर, उपाध्यक्ष तीनवटा मात्र रहेकाले विष्णु पौडेल पनि दोहोरिने र रामबहादुर थापालाई पनि दोहोर्याउनुपर्ने भएकाले ज्ञवाली र गुरुङमध्ये एकलाई मात्र उपाध्यक्ष बनाउन सकिने बाध्यतामा ओली छन् । गुरुङलाई उपाध्यक्षमा व्यवस्थापन नगर्दा टिममै अप्ठ्यारो पर्न सक्ने र अर्को समूहले महासचिवको उम्मेदवार बनाउन सक्नेतर्फ पनि ओली पक्षले ध्यान दिइरहेको एक नेताले बताए । उपमहासचिव ज्ञवालीले पुन: नदोहोरिने भन्दै महासचिवकै लागि अडान राखिरहेको स्रोतले जनाएको छ । त्यस्तै, उपमहासचिवमा पुन: विष्णु रिमाल दोहोरिँदा पद्मा अर्याल, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र लेखराज भट्टसम्मलाई कसरी व्यवस्थापन गर्ने ओलीलाई चुनौती छ । सचिवहरूको उपमहासचिवमा बढुवा नहुँदा महासेठ, विश्वकर्मा र भट्टमध्ये दुईजना अर्को टिममा जाने खतरा छ ।
उपमहासचिवमै भानुभक्त ढकालले पनि रुचि राखेका छन् । त्यस्तै, सात सचिवमा नयाँ अनुहारसहितका नेतालाई प्रत्येक प्रदेशबाट एकजना समेट्नुपर्ने चुनौती छ । अर्कोतिर, पोखरेल पक्षले उपाध्यक्षमा युवराज ज्ञवालीलाई दोहोर्याउने तयारी गरेको छ । अष्टलक्ष्मी शाक्यलाई पनि उपाध्यक्षमै दोहोर्याउने, उनी नदोहोरिँदा विन्दा पाण्डे उठाउने, अर्को टिमबाट आउन सक्ने सम्भावित सचिव महासेठ, भट्ट र विश्वकर्मामध्ये सबैलाई उपाध्यक्ष र उपमहासचिवमा पनि व्यवस्थापन गर्न सकिने गरी छलफल सुरु गरेको छ ।
महासचिवमा भने उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई उठाउने सम्भावना बलियो बन्दै गएको उनीनिकट एक पदाधिकारी तहका नेताले बताए । पाण्डेले पनि उपाध्यक्षमा भन्दा कार्यकारी पद महासचिवमै बढी रुचि देखाएका छन् । त्यसो हुँदा सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट उपमहासचिवमा उठ्ने या अर्को टिमबाट आएकालाई छोडेर सचिवमै दोहोरिनसमेत तयार देखिएका छन् । सचिवहरूमा भने गोकुल बाँस्कोटा, कर्ण थापा, विनोद ढकालदेखि ४० वर्ष कम उमेरसमूहलाई समेत ध्यान दिँदै रचना खड्कालाई उठाउने गरी प्रारम्भिक छलफल चलिरहेको एक पदाधिकारीले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।