शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

बालेन निर्विकल्प बन्दा गृह मन्त्रालयमा किचलो

काठमाडौं । निर्वाचन आयोगले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन बुझाएसँगै ताजा जनमतअनुसार सरकार गठन बाटो खुलेको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार निर्वाचन आयोगले प्रतिवेदन बुझाएसँगै सरकार गठन प्रक्रिया सुरु हुने भएको हो । नयाँ सरकार गठनका लागि संवैधानिक ढोका खुलेको बताउँदै राष्ट्रपति पौडेलले कठिन र जटिल राजनीतिक परिस्थितिका बाबजुद निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।

निर्वाचन आयोग, कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिँदै उनले निर्वाचनमार्फत लोकतन्त्र सही ट्र्याकबाट हिँडेको विश्वाससमेत व्यक्त गरे । राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रत्यक्ष तथा समानुपातिक निर्वाचनतर्फको एकमुष्ट परिणाम र विवरण समेटिएको प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका हुन् ।

आयोगले प्रतिवेदन बुझाएसँगै राष्ट्रपतिले संविधानको धारा ७६ (१) बमोजिमको एकल बहुमतको सरकार गठनका लागि आह्वान गर्ने छन् । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुईतिहाइ बहुमत ल्याएकाले संविधानको धारा ७६ (१) अनुसारकै एकल बहुमतको सरकार बन्ने निश्चित छ । राष्ट्रपति पौडेललाई बुझाएसँगै समानुपातिकतर्फ निर्वाचित भएको ११० र प्रत्यक्षतर्फका १६५ गरी कुल २७५ सांसदको नामावली समेटिएको प्रतिवेदन राजपत्रमा समेत प्रकाशित गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगको अन्तिम परिणामअनुसार १७९ पुरुष र ९६ महिला निर्वाचित भएका छन् । संविधानले परिकल्पना गरेको समावेशी सिद्धान्तअनुसार आदिवासी जनजातितर्फ २१.०९ प्रतिशत, खस आर्य समूहतर्फ ४९.०९ प्रतिशत र थारुतर्फ ३.२७ प्रतिशत सहभागिता छ । त्यस्तै, निर्वाचित हुनेमा दलिततर्फ ६.१८ प्रतिशत, मधेशीतर्फ १६.७३ प्रतिशत र मुस्लिमतर्फ ३.६४ प्रतिशत प्रतिनिधित्व छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३ सय ८८ महिला, ३ हजार १७ पुरुष र अन्य १ सहित ३ हजार ४०६ जनाको उम्मेदवारी थियो । समानुपातिकतर्फ १ हजार ७७२ महिला र १ हजार ३६३ पुरुष गरी ३ हजार १३५ जनाको अन्तिम उम्मेदवारी थियो । आजको राजधानी दैनिकमा समाचार छ।