शुक्रबार, ४ बैशाख २०८३
गण्डकी, ४ मङ्सिर — पोखरा महानगर–१३ स्थित आर्बा क्षेत्र प्राकृतिक सौन्दर्य, प्राचीन इतिहास र धार्मिक परम्पराले भरिपूर्ण स्थल हो। यिनै मूल्यलाई संरक्षण गर्दै अब यसलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउने अभियान अघि बढेको छ। करिब शताब्दीभन्दा पुरानो इतिहास बोकेको महाप्रभुधाम, मणिद्विप र रतन पाण्डे मन्दिर क्षेत्रलाई योजनाबद्ध रूपमा विकास गर्न स्थानीय समिति सक्रिय भएको छ। समुन्द्री सतहबाट १,३३५ मिटर उचाइमा रहेको महाप्रभुधामबाट माछापुच्छ्रे, अन्नपूर्णदेखि पोखरा उपत्यकासम्मका दृश्य एकैसाथ देख्न मिल्ने भएकाले आर्बा प्राकृतिक अवलोकनका लागि पनि उत्तिकै आकर्षक मानिन्छ।
शताब्दीअघिको महायज्ञ र किंवदन्तीले भरिएको इतिहास
स्वामी दिनदयालजी महाराजका अनुसार करिब १०० वर्षअघि स्वर्गद्वारीका शिष्य कपिलदेव महाराजले यहाँ एक महिनासम्म महायज्ञ सञ्चालन गरेका थिए। त्यही कालका हवनकुण्ड, गुफा, शिव–गणेश मन्दिर आज पनि त्यस समयको इतिहासका जीवन्त प्रमाण बनेका छन्। स्थानीय बुढापाकाका अनुसार महाप्रभुधाम र रतन पाण्डे मन्दिरको बीच भागमा एक प्राचीन पोखरी थियो। त्यहाँ खसेका बोटका पात चराले टिपेर लैजाने कथा आज पनि किंवदन्तीका रूपमा सुनिन्छ।
मणिद्विप र रतन पाण्डे मन्दिरको धार्मिक प्रभाव
पाल्पाका राजा मणिमुकुन्द शेनले स्थापना गरेको मणिद्विप अत्यन्त शक्तिपीठको रूपमा मानिन्छ। यहाँ नाग प्रकट हुने, निःसन्तान दम्पतीलाई सन्तान प्राप्त हुने विश्वासले स्थानीय तथा बाहिरी भक्तजनलाई आकर्षित गर्छ।रतन पाण्डे मन्दिरमा धान रोपाइँ–भित्र्याइँका समयमा विशेष पूजा गरिन्छ। रतन पाण्डेलाई “वायुका राजा” का रूपमा मानिन्छ। यहाँ चढाइने प्रसाद मन्दिर परिसरमै धारण गर्नुपर्ने, घर लैजान नहुने विशेष विधिले यसको धार्मिक मूल्य झनै बढाएको छ।
धार्मिक पर्यटनको प्रबर्द्धन
महाप्रभुधाम–मणिद्विप–रतन पाण्डे मन्दिरलाई एकीकृत धार्मिक पर्यटकीय जोनको रूपमा विकास गर्ने उद्देश्यले समितिहरू सक्रिय छन्। पोखरा–१३ का वडाध्यक्ष किरण बरालका अनुसार महाप्रभुधाम क्षेत्र विकासका लागि विस्तृत आयोजना प्रतिवेदन (DPR) तयार भइसकेको छ। पूर्वाधार निर्माणमा करिब १२ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ। प्रत्येक वर्ष बालाचतुर्दशीका दिन शतबीज छर्न ठूला मेला लाग्ने परम्पराले पछिल्लो समय यहाँको धार्मिक पर्यटन थप फस्टाएको स्थानीय समितिको भनाइ छ।