शुक्रबार, ४ बैशाख २०८३
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा फरार रहेका जीवन चलाउनेसहित १५ व्यक्ति र २ कम्पनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण विभागले उनीहरूलाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।अनुसन्धानका क्रममा फरार चलाउनेको नाममा काठमाडौंबाट झापासम्म ३२ स्थानमा जग्गा दर्ता भएको खुलेको छ।
ती सम्पत्तिको कूल मूल्य करिब १५ करोड ३० लाख ५१ हजार रुपैयाँ रहेको अभियोगपत्रमा उल्लेख छ। काठमाडौंमा मात्र बलम्बु, मुलपानी र गोठाटारमा पाँच स्थानमा उनको नाममा जग्गा भेटिएको बताइएको छ। त्यस्तै, काभ्रेको खनालथोकमा नौ स्थानमा र रौतहटको पाँच क्षेत्रमा पनि चलाउनेको नाममा जग्गा दर्ता भेटिएको अनुसन्धान प्रतिवेदनले जनाएको छ। झापाको चन्द्रगढीमा मात्र १३ स्थानमा उनको सम्पत्ति भेटिएको छ, जसलाई जफत गर्न माग गरिएको छ।
चलाउनेले विभिन्न बैंकमा यी जग्गा धितो राखेर १ अर्बभन्दा बढी कर्जा लिएको तथ्य खुलेको छ। कर्जा चुक्ता नभएपछि केही बैंकहरूले धितो जग्गा लिलामी प्रक्रियामा अघि बढाइसकेका छन्। हिमालयन बैंकको चार महिनाको विवरणअनुसार, सन् २०२२ सेप्टेम्बर २२ देखि डिसेम्बर १६ सम्म मात्र उनले ३ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार गरेको अभियोगपत्रमा उल्लेख छ। ठमेलस्थित भियना होटलकी सञ्चालक तथा दावाकी श्रीमती अमला रोका, अछामका जीवन चलाउने र बाराका भोला साह सोनारलाई फरार प्रतिवादीको रूपमा सूचीकृत गरिएको छ। पक्राउ परेकामध्ये २६ जनामध्ये रुक्मणी सुब्बा मात्र ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी थिइन्।
चलाउने सञ्चालित मस्टा ग्रुप प्रालिको चुक्ता पुँजी १५ करोड देखिन्छ। कम्पनीका नाममा ३० करोड ९८ लाख ७५ हजार मूल्य बराबरको जग्गा, ६ करोड ६४ लाख ४६ हजार ४१ बराबरको मौज्दात तथा भोगचलनको रूपमा २ करोड बराबरको सम्पत्ति रहेको विवरण उल्लेख छ। यी सम्पत्तिसहित ६० किलो सुनसमेत कुल करिब २ अर्ब ७ करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँ बराबरको सम्पत्तिमा भ्रष्ट स्रोतको रकम लगानी गरिएको भन्दै विभागले मुद्दा दायर गरेको हो।