शुक्रबार, ४ बैशाख २०८३
म्याग्दी, ८ मङ्सिर । म्याग्दी, पर्वत र कास्कीको सीमाक्षेत्रमा अवस्थित प्राकृतिक तथा धार्मिक महत्त्वको कालाञ्जर–हम्पालको जलजला क्षेत्रमा ताल निर्माणको सम्भाव्यता अध्ययन सुरु गरिएको छ। ३,२०० मिटर उचाइमा रहेको खुला घाँसे मैदान र पहाडी भू–भूगोलले भरिपूर्ण यो क्षेत्रमा धार्मिक तथा पर्यटकीय सम्भावना उच्च रहेकाले ताल संरचना विकास गर्ने योजना अघि बढाइएको हो। जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यका अनुसार पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ विनियोजन गरी सम्भाव्यता अध्ययनदेखि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने प्रक्रिया अघि बढाएको छ। प्रमुख विदुरमान श्रेष्ठ नेतृत्वको टोली गत हप्ता स्थलगत निरीक्षणमा गएको थियो।
टोलीले ताल निर्माणस्थलको भू–आकृति, जलस्रोत उपलब्धता, वातावरणीय असर तथा दीर्घकालीन प्रभाव जस्ता पक्षको अवलोकन गरेको उपाध्यक्ष आचार्यले बताए। प्रारम्भिक अध्ययनअनुसार ताल निर्माणका लागि स्थान उपयुक्त देखिएको छ भने आवश्यक सुरक्षात्मक तथा व्यवस्थापनका उपायबारे विस्तृत छलफल भइरहेको श्रेष्ठले जानकारी दिए। ताल निर्माण सम्पन्न भएमा कालाञ्जर–हम्पाल र जलजला क्षेत्र धार्मिक तथा प्राकृतिक सौन्दर्यले भरिएको नयाँ पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ। यहाँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत हिमशृङ्खलाको नयनाभिराम दृश्यावलोकन गर्न सकिन्छ।
धार्मिक दृष्टिले पनि यो क्षेत्र महत्त्वपूर्ण मानिन्छ। विभिन्न हिन्दू धर्मग्रन्थमा हम्पाल र जलजलाको उल्लेख रहेको तथा ऋषिमुनिहरूले यहाँ तपस्या गरी सिद्धि प्राप्त गर्ने मान्यता रहिआएको संस्कृतिविद् प्रा.डा. जगन्नाथ रेग्मी बताउँछन्।जलजला जैविक विविधतामा पनि समृद्ध स्थल हो। बोझो, सतुवा, चिराइतो, जटामसी, टिमुरलगायत मूल्यवान जडीबुटी यहाँ पाइने गर्छन्। साथै डाँफे, मुनाल, कालिज, च्याखुरा, गिद्ध, लाटोकोसेरोजस्ता चराचुरुङ्गी तथा मृगको बथानसमेत यस क्षेत्रमा देख्न सकिन्छ।घोडेपानी, पुनहिल, मोहरेडाँडा, नागी हुँदै म्याग्दीबाट पदमार्गमार्फत यहाँ पुग्न सकिन्छ भने पर्वतको लेकफाँट–शालिजातर्फबाट कच्ची सडक पनि जोडिएको छ।