शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

कांग्रेस विभाजित : दुई कार्यसमितिबिच अब आधिकारिकताको लडाइँ

विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेको छ । संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही र विशेष महाधिवेशन पक्षधरले नयाँ कमिटी चयन गरेसँगै कांग्रेसको आधिकारिकता विवाद निर्वाचन आयोग पुगेको हो । शेरबहादुर देउवा नेतृत्वको र विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमिति दुवै पक्ष आफू आधिकारिक भएको दाबी गर्दैै आयोग गएका हुन् । दुवै पक्ष आयोग गएकाले एकलाई आयोगले आधिकारिकता दिनुपर्ने हुन्छ । आधिकारिकता पाउने पक्षले २१ फागुनको निर्वाचनमा कांग्रेसको चुनाव चिह्न रुख प्रयोग गर्न पाउनेछ । यद्यपि, आयोगको निर्णयलाई चुनौती दिँदै अर्को पक्ष अदालत जान सक्ने विकल्प खुला रहनेछ । 

थापा र शर्मा पक्षले ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी भएर विशेष महाधिवेशन गरिएको र नेतृत्व चयन प्रक्रिया अघि बढाएको जानकारी दिन मंगलबार नै आयोगमा पत्र बुझाएको छ । नवनिर्वाचित कार्यसमितिको विवरण अद्यावधिक गर्न अर्को पत्र पठाउने तयारी छ । संस्थापन पक्षले केन्द्रीय कार्यसमिति बैठकबाट महामन्त्रीद्वय थापा र शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको पत्र आयोगमा पठाएको छ । विशेष महाधिवेशन आयोजना नभएको र त्यससम्बन्धी कुनै दाबी आएमा त्यसलाई वैधानिक नमान्न पत्रमा भनिएको छ । सभापति देउवाकै तर्फबाट आयोगमा पत्र बुझाएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । ‘पार्टीले विशेष महाधिवेशन आयोजना गरेको छैन । त्यसकारण त्यससम्बन्धी कुनै दाबी आएमा त्यसलाई वैधानिक नमान्न हामीले आयोगलाई भनेका छौँ । साथै, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको जानकारी पनि पत्रमार्फत गराएका छौँ,’ विश्वकर्माले भने ।

थापाले आफूलाई कारबाही गर्ने देउवा नेतृत्वको कार्यसमितिलाई विशेष महाधिवेशनले भंग गरिसकेकाले कारबाहीको अर्थ नहुने बताएका छन् । कारबाहीको घोषणापछि भृकुटीमण्डपको विशेष महाधिवेशन हललाई सम्बोधन गर्दै थापाले विशेष महाधिवेशनमा सहभागी सबैलाई कारबाही गर्न चुनौती दिए । थापाले कांग्रेस विवादमा आधिकारिता आफ्नो पक्षले पाउने दाबी गरे । ‘मंगलबारै विशेष केन्द्रीय महाधिवेशनले केन्द्रीय समिति भंग गरेको र नयाँ निर्वाचन प्रक्रिया सुरु भएको जानकारी निर्वाचन आयोगलाई दिइसकेका छौँ,’ उनले भने, ‘विशेष महाधिवेशनमा आएका बहुमत महाधिवेशन प्रतिनिधि रहेको ठाउँ र हामी आधिकारिक हौँ । विधि र विधानसम्मत रूपमा यहाँ आएका महाधिवेशन प्रतिनिधि आधिकारिक कांग्रेस हुन्, यो हल आधिकारिक कांग्रेस हो । चारतारे झन्डा र रुख चिह्न हामीसँग छ । मलाई संविधान, निर्वाचन आयोगलगायतका संस्थाहरू, नियम र विधिमा विश्वास छ । हामी आधिकारिक हौँ र मान्यता पाउँछौँ भन्नेमा विश्वस्त छु र विश्वास दिलाउन चाहन्छु ।’

आयोगले दुवै पक्षको पत्र प्राप्त भएको जनाएको छ । ‘दुवै पक्षको पत्र आएको छ । हिजो महाधिवेशन पक्षधरको आएको थियो । आज अर्काे पक्षबाट आएको छ । मैले पत्र हेर्नचाहिँ पाएको छैन,’ आयोग प्रवक्ता नारायण भट्टराईले भने । उनका अनुसार राजनीतिक दलसम्बन्धी विवादमा बैठक बसेर आयोगले निर्णय गर्नेछ । आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसहित तीनजना आयुक्त बसेर निर्णय गर्ने तयारी छ । आगामी ६ माघमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय भएकाले कांग्रेस विवाद छिटो टुंग्याउने तयारीमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रहेको एक अधिकारीले बताए । ‘प्रत्यक्षतर्फको मनोनयन दर्ताको समय नजिकिएकाले छिट्टै विवाद टुंगो लगाउने तयारी छ,’ ती अधिकारीले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।